तिलोत्तमाको प्रवेशद्वारमा बुद्धज्योति पार्क

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल – लायन्स क्लब अफ तिलोत्तमा बुद्धज्योतिले तिलोत्तमा नगरको उत्तरी प्रवेशद्वार योगीकुटीमा निर्माण गरेको लायन्स पार्क शुक्रबार उद्घाटन गरिएको छ । क्लबका पदाधिकारी र सदस्यबाट रकम उठाएर तथा चन्दादाताबाट सहयोग मागेर २० लाख रुपैयां बढी लागतमा पार्क निर्माण गरिएको हो । करिब २ कठ्ठा क्षेत्रफलमा निर्मित पार्कलाई निकट भविष्यमै स्मार्ट पार्क बनाउने क्लबले लक्ष्य लिएको छ । बुटवल–भैरहवा ६ लेन सडक किनारमा निर्मित पार्कको लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ बी २ नेपालका गभर्नर सुनिल वझाले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै गभर्नर वझाले स्थापनाको दुई वर्षमै क्लबले नमूना पार्क बनाएर सबैका लागि अनुकरणीय काम गरेको बताए । पार्क उद्घाटन कार्यक्रममा लायन्स क्लब मणिमुकुन्दका पुर्व अध्यक्ष काजीमान श्रेष्ठ, तिलोत्तमा वडा नंं २ का अध्यक्ष दधिराम गौतम,शंकरनगर खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष हरि तिवारी, पत्रकार खिमानन्द भट्टराई,जागृति युवा क्लकबा अध्यक्ष अर्जुन पौडेल,देवबहादुर कुंवर लगायतले बोल्दै लायन्स पार्कले तिलोत्तमा नगरपालिकाको सौन्दर्य बढाएको चर्चा गर्दै पार्कको संरक्षणमा सबैले ध्यान दिनुपर्ने सुझाव दिए ।

क्लबका अध्यक्ष भक्तबहादुर खड्काको अध्यक्षता,पार्क निर्माण समितिका संयोजक केशरबहादुर थापाको स्वागत र गंगाराज सापकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रममा पार्क निर्माणमा आर्थिक र भौतिक सहयोग गर्ने व्यक्ति र संस्थाहरुलाई सम्मान गरिएको थियो ।  पार्क परिसरमा क्लबले १० वटा पाम ट्रि र आठ वटा धुपीका विरुवा रापेको छ भने विभिन्न जातका कट फ्लावरहरु पनि रोपिएको छ । पार्कभित्र बुद्धको मुर्ति, खानेपानी धारा र बस्नका लागि सेडहरु बनाइएका छन् । पार्कभित्र चमेना गृह र फ्रि वाईफाईजोन सहित  आकर्षक बनाउने क्लबको लक्ष्य रहेको छ ।