झविन्द्र भण्डारी प्राकृतिक धार्मिक एवं सांस्कृतिक क्षेत्रले धनि जिल्ला हो गुल्मी । यहि गुल्मी जिल्लाको पश्चिमी क्षेत्रमा रहेको ऐतिहासिक एवं पर्यटकीय महत्व वोकेको विचित्र गुफा प्रचार प्रसारको पर्खाइमा रहेको छ । गुल्मी जिल्लाको सदरमुकाम तम्घास देखि २० किलोमिटर पश्चिम छल्दी खोलाबाट करिब ७०० मिटरको उचाइमा रहेको धुर्कोट गाउँपालिका ५ वस्तु अर्थात साविकको वस्तु ५ कमलावन भन्ने ठाउँमा गुफा अवस्थित छ ।
गुफाको उत्पत्ति लाई हेर्दा ठुँला ठुँला ओढारहरु भएको ठाउँ नजिक घाँस दाउराका लागी मानिसहरु गएतापनि त्यो ठाउँ ओढार तथा भिर भएको र विभिन्न किसिमका लहराहरुले जेलिएको कारण मानिसहरको त्यस प्रति ध्यान गएको थिएन । संयोग भन्नु पर्छ २०४५ साल असारको महिनामा यस क्षेत्रका स्थानिय हरुले ढेंडुवा लखेट्ने क्रममा ढेंडुवा ओढार भित्र पस्यो । स्थानियहरुले किन ओढार भित्र पस्यो भनि अप्ठ्यारो ठाउँ भएतापनी विभिन्न माध्यमबाट डर नमानी ओढार भित्र पुग्दा गुफा भएको पत्ता लगाएका थिए ।
यसरी पत्ता लागेको गुफामा सुरु सुरुमा भित्र प्रवेश गर्न निकै कठिनाइ वेर्होनु पर्यो । सहज बाटो नहुदा स्थानियले बाँसको भयाङ बनाई विभिन्न लहराहरको सहायताले मानिसहरु सकिनसकी गुफा भित्र प्रवेश गर्थे केहि समय पछी भने गुफा सम्म सहज रुपमा प्रवेशका लागी पुलको निर्माण गरियो ।
गुफालाई संरक्षण तथा प्रचार प्रसारका लागी सुरु सुरुमा सप्ताह गरियो भने पुजा आजाका लागी पुजारीको व्यवस्था गरी आगन्तुक हरुलाई पुजारीले गुफा भित्रको धार्मिक महत्व तथा इतिहासका बारेमा बताउनु हुन्थ्यो ।
गुफामा प्रवेश गर्दा प्रवेशद्वार वाटै विभिन्न किसिमका आकृत्तिहरु देखा पर्दछन । गुफा भित्र रहेका मुख्य आकर्षण हरुमा स्वर्ग जाने बाटो गाइका थुन पारदर्शी ढुङ्गा शिवलिङ्ग कृष्ण गोपिनी संग नाचेको दृश्य रामले सितालाई विहे गर्ने क्रममा धनुष उचाल्दा ३ टुक्रा पारेको दृश्य कृष्णले दहि चोर्दा ठेकी वाट दहि पोखिएको दृश्य, रावणले सिता लाई हरण गरेको दृश्य, शेष नागको आकृति, हात्तिको दृश्य, चमेराहरु लगायतका विभिन्न किसिमका आकर्षण हरुले जोकोइको मनपनी कल्पिन्छ । त्यस मध्येपनि स्वर्ग जाने बाटो विशेष आकर्षणको रुपमा रहेको छ धार्मिक मान्यता अनुसार धर्मातमाहरु छिर्न सक्ने र पापिहरु छिर्न सक्दैनन भन्ने कथन पनि रहि आएको छ । साथै स्वर्ग जाने वाटो भित्र गइयो भने जिउदै स्वर्ग गइने जनविश्वास पनि रहि आएको छ ।
गुफाको लम्बाइ १९० मिटर रहेको घोषणा गरेतापनी यसको सम्पूर्ण भागको अध्ययन हुन सकेको छैन यसको अनुसन्धान गर्नेहो भने अझै नयाँ नयाँ आकर्षण पत्ता लाग्ने र लम्बाइ पनि लामो हुन सक्ने अनुमान गरिएको छ ।
नेपालकै सबैभन्दा बढी आकृति भएको गुफाका रुपमा चिनीने यस ठाउँमा सहज रुपमा पर्यटकहरु आवत जावतका लागी सडकको पनी राम्रो व्यवस्था गरिएको छ । साथै गुफा संरक्षण तथा विकास समितीले खानेपानिको उचित व्यवस्था, शौचालय प्रतिक्षालय लगायतको व्यवस्थापन गरेको छ । गुफा भित्र अवलोकन गर्न उज्यालोका लागी विद्युत जडान गरिएता पनि कुनै कुनै समयमा चिसोका कारणले गर्दा सहज रुपमा विद्युतको प्रयोग नभएपनि अन्य विभिन्न किसिमका लाइट हरुका माध्यमबाट गुफा अवलोकन गर्न सकिने व्यवस्था गरिएको छ । गुफा भित्र सहजताका लागी केहि ठाउँमा सिडिहरुको निर्माण गरिएको छ ।
गुफाका बारेमा सहज अध्ययनका लागी गुफा संरक्षण तथा व्यवस्थापन समितीले भित्ते पात्रोहरु तथा पुस्तक प्रकाशन गरेको छ भने पूर्ण भण्डारी “पवित्रदीप” ले लेख्नुभएको ‘गुल्मेली चिनारी विचित्र गुफा नामक पुस्तक बाट पनि गुफाका वारेका विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको गुफालाई जुन रुपमा प्रचार प्रसार गर्नुपर्ने हो त्यो रुपमा भएको पाइदैन । त्यसैले राज्य स्तर र अन्य विभिन्न निकाय बाट प्रचार प्रसारको पहल गरियो भने अझ वढि रुपमा आन्तरीक तथा वाह्य पर्यटकको मन जित्ने र पर्यटनको विकासमा टेवा पुग्ने देखिन्छ ।












