बुटवल, १४ असार । प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीले स्वदेशी मदिरा उद्योगलाई बढवा दिनुपर्ने बताएका छन् । मदिरा व्यवसायि महासंघ प्रद्श नं ५ को छलफल कार्यक्रममा बोल्दै उनले विदेशी आयातित मदिरालाई निरुत्साहित गर्दै स्वदेशी मदिरा उद्योगहरुलाई बढवा दिनुपर्ने बताए । विदेशी मदिराको अत्याधिक आयात बढेको भन्दै मन्त्री केसीले घरेलु मदिरालाई गुणस्तरयुक्त बनाउन सुझाव दिए । उनले प्रदेश सरकारले कानून निमार्णको काम गरिहेको भन्दै स्वदेशी मदिरा उद्योगलाई प्रोत्साहन गरिने उनले बताए । उनले घरेलु मदिरा संस्कार संग जोडिएको भन्दै घरेलु मदिरालाई प्रतिबन्ध नलगाई विविधतायुक्त मदिरा बनाउन आग्रह गरे । उनले टिमुर, स्याउ, अदुवा जस्ता विभिन्न फेवरका घरेलु रक्सी बनाएर विदेशीलाई स्वाद चखाउन सके नेपाली उद्योगको प्रबद्र्धन गर्न सकिने बताए ।
कानुन झन्झटिलो रहेको स्वीकार गर्दै मन्त्री केसीले प्रदेश सरकारले स्पष्ट कानुन बनाएको बताए । मदिरा व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सोनाम शेर्पाले भने घरेलु मदिरा नियन्त्रण गर्न माग गरे । उनले विक्रिका आधारमा मुल्य अभिबृद्धि कर लगाउनुपर्ने बताए । त्यसैगरी उपाध्यक्ष विष्णु कुमार श्रेष्ठले अबैध घरेलु मदिराका कारण समाजमा विकृती बढेको भन्दै नियन्त्रण गर्न माग गरे । अर्का केन्द्रीय उपाध्यक्ष मृगेन्द्र गाविन्द श्रेष्ठले कानुनमा बर्षमा चार पटक गरी २० लिटर मात्र घरेलु मदिरा बनाउनुपर्ने नियम भएपनि यसैका आधारमा अबैध रुपमा घरेलु मदिरा उत्पादन भइरहेको बताए । आन्तारिक राजश्व राजश्व कार्यालय बुटवलका कर अधिकृत हिमाल गौतमले राज्यले मदिरा व्यवसायीलाई गलत दृष्टिले नहेरेको स्पष्ट पार्दै अबैध मदिरलाई करको दायरामा ल्याउन व्यवसायीको सहयोग चाहिने बताए । मदिरा व्यवसायी महासंघका केन्द्रीय निवर्तमान उपाध्यक्ष खिम बहादुर खत्रीले मदिरा व्यवसायीलाई व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा जोड दिदै मदिरामा स्कीम र छुट दिन नहुने बताए । महासंघका प्रदेश सल्लाहकार धनश्याम पौडेलले मदिरा उत्पादक बाट हुने गल्तीलाई व्यवसायी संग जोडेर दुःख दिने काम भएको गुनासो गरे । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले राजश्व संकलनमा मदिराको ठुलो योगदान भएपनि शान्ति सुरक्षाको पाटोमा चुनौती थपिएको बताए ।
कार्यक्रममा उद्योग व्यापार संगठन रुपन्देहीका महासचिव अनिल ज्ञवाली, संघका सिद्धार्थनगर शाखा अध्यक्ष केशवराज ज्ञवाली, उद्योग बाणिज्य संघ पाल्पाका महासचिव यादव सिंह कार्की, बुटवल उद्योग बाणिज्य संघका महासचिव दिनेश प्रसाद श्रेष्ठ लगाएतले बोल्दै मदिरा व्यवसाय करको दायरा भित्र रहेर गरिने बैधानिक व्यवसाय भएपनि राज्यले हेर्ने दृष्टिकोणमा अझै परिर्वतन हुन नसकेको गुनासो गरे । मदिरा व्यवसायी महासंघ प्रदेश नं. ५ का अध्यक्ष गिरीराज पौडेलेको अध्यक्षता, प्रदेश सचिव चिरञ्जीवि राउतको सञ्चालन तथा उपाध्यक्ष कृष्ण बरालको स्वागतमा कार्यक्रम भएको थियो ।









