गुल्मीमा सार्वजनिक सचेतना कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

भदौ १ गतेदेखि लागु हुन लागेको नयाँ मुलुकी ऐन कानुन सम्बन्धि सरोकारवालाहरु लाई जानकारी गराउने उद्देश्यले गुल्मीको सदरमुकाम तम्घासमा सार्वजनिक सचेतना कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय गुल्मीद्वारा आयोजना गरिएको सचेतना कार्यक्रममा जिल्ला न्याधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेले मुलुकि अपराध संहिता २०७४, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ र फौजदारी कसुर ऐन २०७४ को बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा मुलुकी अपराध संहिता सम्बन्धि कार्यपत्र प्रस्तुत गर्दै जिल्ला न्याधिवक्ता घिमिरेले अपराध संहिताको स्वरुप, अपराध संहितामा समावेश कसुरहरु, वैयक्तिक गोपनीयता तथा प्रतिष्ठा विरुद्धको कसुर, गाली वेईज्जेयती सम्बन्धि कसुर लगायतका विषयहरुमा जानकारी गराउनु भएको थियो । विगतको ऐनमा भन्दा नयाँ मुलुकी ऐनमा कसुरको प्रकृति हेरी सजाय निर्धारणका मापदण्डहरुमा परिवर्तन गरिएको भन्दै न्याधिवक्ता घिमिरेले सरकारले कानुनी व्यवस्थालाई समय सापेक्ष बनाई त्यसलाई आधुनिकिकरण गर्दै अन्र्तराष्ट्रिय अध्यास अनुरुप कानुनी व्यवस्था लागु गर्न नयाँ मुलुकी ऐन कानुन लागु हुन लागेको जानकारी गराउनु भएको थियो ।उक्त कार्यक्रमका सहभागिहरुले वहुविवाह, कसुर साँजाय, महिला हिंसा, सम्वन्ध विच्छेद, हिरासद सुधार जस्ता विषयमा आआफ्ना जिज्ञासाहरु राखेका थिए । सहभागिहरुले राखेको जिज्ञासा समाधान गर्दै जिल्ला न्यायाधिस रामप्रसाद न्यौपानेले कानुनको अवधारणा र विकासक्रम, प्रकृया, फैसला र त्यसको कार्यान्वयन लगायतका विषयमा स्पष्ट पार्नु भएको थियो । सोही कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले समग्रमा समय सापेक्ष रुपमा कानुन आएको भन्दै यसको कार्यान्वयन गर्न आफुहरु प्रतिवद्ध रहेको बताउनु भएको थियो । उक्त सचेतना कार्यक्रममा जिल्ला स्थीत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, उद्योगी, व्यापारी, नागरिक समाज, कानुन व्यवसायी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।