बुटवल –इट्टा उद्योगहरुलाई व्यवस्थित बनाउनु पर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । उनीहरुले सरकारी नीति नियम इटा उद्योग मैत्री नहुँदा समस्या भएको भन्दै त्यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी रहेकोमा जोड दिए । ‘श्रमिक मैत्री ईट्टा उद्योग, ईट्टा उद्योगमैत्री स्थानीय शासन र नीति’ बिषयक कार्यशाला गोष्ठिमा बोल्दै उनीहरुले सही व्यवस्थापन र उचित नीति भएमा उद्योगहरुको राम्रो सम्भावना रहेको बताए ।
सोमवार तिलोत्तमाको नयांमिलमा सम्पन्न कार्यशाला उद्घाटन गर्दै उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले ईट्टा उद्योगहरुका लागि आवश्यक कच्चा पदार्थको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । उनले मुलकको अर्थ व्यवस्थालाई चलायमान गराउन इटा उद्योगहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै व्यवस्थापनका लागि सरकारले काम गरिरहेको बताए । मन्त्री गिरीले ईट्टा उद्योगलाई सहज रुपमा कर्जा प्रवाह गर्न पहल गर्ने आश्वासन समेत दिए । मन्त्री गिरीले वातावरण प्रदुषण र बाल श्रम न्यूनीकरणका लागि सचेत हुनुपर्ने बताए । प्रदेश सभा सदस्य डा. कृष्ण न्यौपानेले नेपालमा इट्टा उद्योगको पुरानो इतिहास रहेको उल्लेख गर्दै यो उद्योगलाई प्रबिधिमैत्री बनाएर बिकासको मुल आधारका रुपमा नै अघि बढाउनु पर्ने बताए ।
कार्यशालामा बोल्दै प्रदेशसभा सदस्य निर्मला क्षेत्रीले सरकारले स्पष्ट नीति नियम बनाएर उद्योगलाई प्रविधियुक्त बनाउनु पर्ने बताइन् । कपिलवस्तुको शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले इट्टा उद्योलाई प्रदूषण र बाल श्रममुक्त बनाउन नगरपालिकाल जनचेतामूलक कार्यक्रम र उद्योगको पूर्वाधार बिकासका लागि उद्योग सम्म सडक पुर्याउने तथा जनशक्तिलाई तालिम उपलब्ध गराउने बताए । सामाजिक बिकास मन्त्रालयका निमित्त सचिव टिकाराम अर्यालले न्यूनतम पारिश्रमिक तथा बाल श्रमिकहरुका बारेमा उद्योगिले विषेश ख्याल गर्नु पर्ने बताए । इट्टा उद्योग व्यवसायी संघ प्रदेश ५ का अध्यक्ष थानेश्वर घिमिरेले ईट्टा उद्योग बिकास निर्माणदेखि बसोवास निर्माण हरेक क्षेत्रमा आवश्यक भएपनि सबैको निसानामा यिनै उद्योग पर्ने गरेको बताए । कार्यक्रममा उद्योगी डम्वर शर्माले नेपालमा इट्टा उद्योगको अवस्था समस्या सम्भावनाका बिषयमा उद्योगि डम्वर शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए ।












