काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देश समृध्दीको बाटोमा अघि बढिसकेको हुनाले सबै परिवर्तनकारी शक्ति एकिकृत हुनुपर्ने कुरामा जोड दिनुभयो । समाजवादी पार्टी नेपालबाट शुत्रःबार नेकपमा प्रवेश गरेका नेताहरुलाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले सरकारले निकै महत्वपूर्ण कामहरु गरेको तर प्रतिपक्षी दलहरूले कुनै न कुनै निहुँमा विरोध गरिरहेको बताउनुभयो ।
सरकारले मन्त्री परिषद्को निर्णयबाट एकदम न्युन खर्चमा आइफा गराउन खोजेको थियो तर सरकार अर्बौ खर्च गर्यो भनेर विरोध गरे तर सरकारले त्यस्तो केहि गरेको थिएन उहाँले भन्नुभयो, सरकारले आइफा कार्यक्रम गराउन तयार छ त्यसका बारेमा छलफलहरु भइरहेको छ, कुरा मिल्यो भने, देशको हितमा भयो भने हुन्छ नभए हुदैन ।’ पर्यटन वर्ष २०२० लाई सहयोग पुग्ने गरि आईफाको आयोजना हुन लागेको थियो तर बेकारको निहुँ झिकेर विवादमा तानेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
नेकपाको केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश निर्माणको लागि सबै कम्यूनिष्ट एक हुनु पर्ने कुरामा जोड दिनुभयो । उहाँले नामै लिएर मोहन विक्रम सिंह, चित्रबहादुर केसी, मोहन वैद्य, नारायणमान बिजुक्छे, डा बाबुराम भट्टराईले, नेत्रविक्रम चन्द विप्लवलाई पार्टीमा आउन आह्वान गर्नुभयो ।
शान्ति प्रक्रियालाई अन्तिम टुंगो लगाउन र समृध्द नेपाल निर्माण गर्न सबै एक ठाउँमा आउनु आवश्यक रहेको उहाँले बताउनुभयो । उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी नेपालबाट देवेन्द्र पराजुली, कल्पना धमला, मनु हुमागाईं लगायत ५० जनताभन्दा बढी नेता तथा कार्यकर्ताले नेकपामा प्रवेश गर्नुभयो ।









