विषादी परीक्षण प्रकरणमा मन्त्रीले स्वीकारे गल्ती

प्रकाशित मिति:

काठमाडौँ –उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले नेपालमा आयात हुने फलफूल तथा तरकारीमा विषाधि परीक्षण नगर्ने निर्णय लिनुमा सचिवहरु जिम्मेवार रहेको आरोप लगाएका छन् ।मन्त्री यादवले सोमबार अपरान्ह पत्रकार सम्मेलन गरी सचिवहरुको भरपर्दा आफू सो निर्णयका कारण डुबेको पनि बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र आफ्नै मन्त्रालयका ३ जना सचिवहरुले गलत सुझाव दिएका कारण आफू सो निर्णयमा डुबेको मन्त्री यादवको दावी छ ।

मन्त्री यादवले सो निर्णयको जिम्मेवारी भने आफूले लिने पनि स्पष्ट पारेका छन् । उनले आफूलाई गुमराहमा राख्ने सचिवहरुलाई ठिक ठाउँमा बस्न पनि सचेत गराए । मन्त्री यादवले सरकारलाई विवादमा ल्याउने काम सचिवहरुले गर्न नहुने पनि बताए ।आफूले ती विषयमा अध्ययन नगरी सो निर्णय लिएर गल्ती गरेको पनि मन्त्री यादवको स्विकारोक्ति थियो । उनले सो निर्णय कसैको दवावमा परेर नगरेको पनि पटक पटक दोहोर्‍याए ।उनले आफूले हरेक निर्णय राष्ट्रको हितमा गरिरहेको दावी समेत गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै उद्योग सचिव यामकुमारी खतिवडाले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवका कारण सो निर्णयमा गल्ती हुन पुगेको स्पष्टिकरण दिएका थिए ।