छापा मार्ने चर्चाले अमेरिकामा आप्रवासी त्रसितः चर्च जाने घटे, बजार सुनसान

प्रकाशित मिति:

वाशिङ्गटन – अमेरिकी अध्यागमन अधिकारीहरुले ९ वटा सहरमा आइतबार राति अवैध आप्रवासीलाई पक्रन छापा मार्ने कार्यक्रम तय भएको घोषणा गरे । सञ्चारमाध्यममा पनि यही कुरा आएको थियो । यसले गर्दा चर्चमा जानेहरु घटेका थिए, बजारहरु शान्त थिए । बाटाहरुमा भीड थिएन । छापा मार्ने समाचार प्रकाशित भएपछि कैयौं कागजात नभएका आप्रवासीहरु तर्सिएका छन् । उनीहरु स्थानीय ग्रोसरीहरुमा भेला भएर योजना बनाउँदै गरेको अवस्थामा भेटिएका छन् ।

उनीहरु मध्ये केहीले घरमा बत्ती निभाएर बस्ने योजना बनाएको जनाएका थिए । कतिपय काममा नगई घरमा बसेका थिए । कतिपयले छापा मारेको अवस्थामा के—के देखाउने भनेर तयारी गरिरहेको पनि पाइएको थियो । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको आम गिरफ्तारीको नीति कार्यान्वयन भए–नभएको खुलाइएको छैन । कागजात नभएका ‘अनडकुमेन्टेड’ आप्रवासीलाई पक्राउ गरेर स्वदेश फर्काउने अमेरिकी राष्ट्रपतिको नीति अनुसार यो अभियानको कुरा बाहिर आएको हो । उनीहरुले करिब २ हजार आप्रवासीलाई पक्रने लक्ष्य लिएका थिए । यो अभियान विभिन्न ९ वटा सहरमा केन्द्रीत रहेको अधिकारीहरुले बताएका छन् ।
छापा मार्ने कार्य एटलान्टा, बाल्टीमोर, सिकागो, डेन्भर, हाउस्टोन, लस एन्जेल्स, मियामी, न्यूयोर्क र सान फ्रान्सिस्कोमा केन्द्रीत रहेको वरिष्ठ अध्यागमन अधिकारीहरुले बताएका थिए । न्यू ओर्लियन्स पनि सूचीमा रहेको बताइएको छ । तर, सो क्षेत्रमा आँधी आएका कारण अहिलेलाई स्थगन गरिएको जनाइएको थियो । तर, ९ स्थानमा छापा मारिए–नमारिएको बारेमा यो सामग्री तयार पारुन्जेल खुलेको छैन । वाल स्ट्रिट जर्नलको अनलाइन संस्करणले भने छापा मार्ने सरकारको कार्य असफल भएको जनाएको छ ।
छापा मार्ने प्रक्रियाका बारेमा भने अध्यागमन अधिकारीहरुले पहिला खोलेका थिएनन् । अध्यागमन कार्यालयका प्रवक्ता माथ्यु बुर्केले भनेका छन्, विभागले खतरनाक ठानिएकाहरुको हकमा प्राथमिकतामा राखेर छापा मार्ने तय भएको छ । बुर्केले गैरकानुनी रुपमा रहेका आप्रवासीलाई पक्रेर हटाउने जनाउँदै उनीहरुले राष्ट्रिय सुरक्षा,सर्वसाधारणको सुरक्षा र सीमा सुरक्षामा खतरा ल्याएको जनाएका छन् ।

वरिष्ठ अध्यागमन अधिकारीका अनुसार अपरेसनको विस्तृत विवरण नै पहिला चुहिएपछि यो छापा मार्ने कार्य अहिलेलाई सरेको जनाइएको छ । छापा मार्दा भर्खरै अमेरिका पुगेकाहरु पनि पर्न सक्नेछन् । यसअघि गएको फेबु्रअरीमा एक अदालतले अनुमति दिएपछि २ हजार मानिसलाई अध्यागमनले पत्र पठाएर मार्चसम्ममा जानकारी दिन भनेको थियो । वरिष्ठ अध्यागमन अधिकारीहरुले आइतबारको कार्यक्रममा २ हजार मानिसलाई लक्षित गरिएको जनाइएको छ । अमेरिकाको इमिग्रेसन एण्ड कस्ट्युम्स इनफोर्समेन्टको तथ्यांकअनुसार सन् २०१८ मा अमेरिकाबाट २ लाख ५६ हजार ८५ मानिस फिर्ता पठाइएका छन् । २०१७मा २ लाख २६ हजार ११९ जना पठाइएका थिए । (एजेन्सी)