विदेश विभागमा नेपाल र संगठनमा बामदेव पक्का

प्रकाशित मिति:

काठमाडौं – नेकपा सचिवालयमा प्रतिनिधित्व गर्ने ६ जना पूर्वएमाले नेताहरुले प्रधानमन्त्री निवास बालुवाटारमा छुट्टै बैठक गरेका छन्। बिहीबार राति बसेको बैठकले एमालेको भागमा परेका विदेश विभाग प्रमुखमा बरिष्ठ नेता माधवकुमार नेपाल र संगठन विभाग प्रमुखमा सचिवालय सदस्य बामदेव गौतमलाई पठाउने निर्णय गरेको बालुवटार स्रोतले जनायो । ‘एमालेको भागमा परेको संगठन विभाग र विदेश विभाग प्रमुखमा क्रमशः बामदेव कमरेड र माधव कमरेडलाई पठाउने निर्णय भएको छ,’ स्रोतले भन्यो । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल नेकपाभित्र दुई अध्यक्ष केपी ओली र प्रचण्डबाहेक तेस्रो शक्तिको रुपमा खडा छन् । पूर्वएमालेका शक्तिशाली नेता गौतमको शक्ति पनि बलियो छ । उनी पछिल्लो समय प्रचण्डसँग निकट छन्। अध्यक्ष र महासचिवले विभागीय जिम्मेवारी नलिने सहमतीसँगै संगठन विभागमा गौतम र विदेश विभागमा नेपालको नाम टुंगो लागेको हो।

नेकपामा ९ जना सचिवालय सदस्य छन्। बालुवाटार बैठकमा सचिवालय सदस्यहरू केपी शर्मा ओली, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल सहभागी थिए। बैठकले पार्टी एकीकरणका लागि माओवादीसँग गरेको सहमतिअनुसार अघि बढ्ने निर्णय समेत गरेको छ। साउन ५ गते बस्ने सचिवालय बैठकले यो निर्णयलाई औपचारिकता दिनेछ। नेकपाका ३२ वटा विभागमध्ये १८ वटामा पूर्वएमाले र १४ वटामा पूर्वमाओवादीले प्रमुखको जिम्मेवारी लिने सहमति भएको थियो । ३५ जना सदस्य रहने हरेक विभागमा २० पूर्वएमाले र १५ जना पूर्वमाओवादीबाट रहनेछन्। नेकपाको अर्को महत्वपूर्ण विभाग– स्कुल विभाग प्रमुखमा सहमति भैसकेको छैन। त्यो पदमा सचिवालय सदस्य ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले दाबी गरिरहेका छन्।

यसअघि जिल्ला इन्चार्ज पूर्वएमालेले ४४ र पूर्व माओवादीले ३३ लिने भनिए पनि दुई जिल्लामा मिल्न बाँकी रहेकाले ४१ र ३६ हुने सम्भावना छ। सहइन्चार्ज एउटा जिल्लामा एकभन्दा बढी रहन सक्नेबारे छलफल भएपनि कतिजना राख्ने टुंगो लागेको छैन। नेकपाले केन्द्रीय सल्लाहकार परिषद् र जेष्ठ कम्युनिष्ट मञ्च पनि स्थापना गर्ने भएको छ। २२१ जना सदस्य रहने परिषद्को अध्यक्ष पूर्व एमालेका केशव बडाल रहने छन्। त्यत्ति नै सदस्य रहने मञ्चको अध्यक्ष पूर्व माओवादीका एनके प्रसाईं रहने सहमति भइसकेको छ । नेकपाका ३ वटा केन्द्रीय आयोगहरूमध्ये २ वटामा पूर्व एमालेबाट प्रमुख र एउटामा पूर्व माओवादीबाट प्रमुख रहने छन्। लेखा परिक्षण आयोगको प्रमुख डा. पुष्प कँडेल रहने सहमति भएको छ। अनुशासन आयोग प्रमुखमा अमृत बोहराको नाममा अध्यक्ष ओली सहमत नभएपनि उनी नै रहने संभावना छ । नेकपाको निर्वाचन आयोगको प्रमुखमा पूर्व माओवादीबाट संभवतः अमिक शेरचन रहने छन्।