एजेन्सी -सिरियाको विद्रोही नियन्त्रित इडलिब प्रान्तमा गराइएको हवाई आक्रमणमा कम्तीमा २३ सर्वसाधारण मारिएका छन् ।इडलिब प्रान्तको मरात अल नुमान शहरमा गरेको हवाई आक्रमणमा उनीहरु मारिएको सिरियाली गृहयुद्धको अनुगमन गरिरहेको संस्थाले जनाएको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार आक्रमणमा अरु दर्जनौं घाइते भएका छन् ।
इडलिबमा सक्रिय सिरियाली विद्रोही समूहले उक्त आक्रमणमा रुसी वा सिरियाली वायुसेनाको हात रहेको आरोप लगाएका छन् ।हवाई आक्रमणका क्रममा विभिन्न भवनमा क्षति पुगेको र ठूलो विनाश निम्त्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सिरियाली सेनाले इडलिब प्रान्तमा सैनिक कारवाही गर्न लागेको भन्ने समाचार सार्वजनिक भइरहेका बेला पछिल्लो हवाई आक्रमण भएको हो ।यता रुसले भने इडलिब प्रान्तमा आफ्ना वायुसेनाको कुनै हवाई आक्रमण नगरेको दाबी गरेको छ । रुसको रक्षामन्त्रालयले इडलिब प्रान्तमा कुनै पनि हवाई आक्रमणमा रुसी वायुसेनाको कुनै संलग्नता नरहेको जनाएको हो ।












