२७ वर्षे मोहम्मद आमिरले टेष्टबाट लिए सन्यास

प्रकाशित मिति:

काठमाडौं । पाकिस्तानका मोहम्मद आमिरले टेष्ट क्रिकेटबाट सन्यास लिएका छन् । यसैगरी श्रीलंकाका अर्का क्रिकेटर लासिथ मालिंगाले पनि क्रिकेटबाट विदा भएका छन् । उनीहरु दुवै क्रिकेट करियरमा खतरनाक बलिङ भएको स्पष्ट देखिन्छ । आमिरले सन् २००९ मा १७ वर्षको उमेरमा श्रीलंकाविरुद्ध पहिलो टेस्ट क्रिकेट खेलेका थिए । उनले ३६ औं टेष्ट म्याचमा पाकिस्तानको प्रतिनिधित्व गरे र ३७।४० को औसतमा ११९ विकेट लिए । २७ वर्षे आमिरले पाकिस्तान क्रिकेट बोर्डमार्फत् आफ्नो सन्यासको घोषणा गरे । त्यसपछि आउनले आफ्नो ट्वीटमार्फत पाकिस्तान क्रिकेट बोर्ड र पूर्व कप्तान इमरान खान, पूर्व क्रिकेटरहरु वसिम अकरम, शाहिद अफ्रिदी, वकार युनिस, मोहम्मद युसुफ र आफ्ना प्रशंसकहरुलाई धन्यवाद दिएका छन् ।

आफ्नो भिडियोमा आमिरले भनेका छन्, ‘टेष्ट क्रिकेट खेल्ने सपना पूरा एकदमै थोरै व्यक्तिको मात्र हुन्छ । टेष्ट क्रिकेटमा पाकिस्तानको प्रतिनिधित्व गर्न पाउनु मेरोलागि निकै सम्मानको कुरा थियो । मैले टेष्ट क्रिकेटमा राम्रो प्रदर्शन पनि गरेँ । १४ म्याचमा ५१ विकेट लिने सबैभन्दा युवा खेलाडी पनि बनें ।’ आमिरको रिटायरमेन्टप्रति पाकिस्तान क्रिकेट बोर्डका म्यानेजिङ डाइरेक्टर वसीम खानले मैदानमात्र नभइ ड्रेसिङ रुममा पनि आमिरको कमी महसुस हुने बताएका छन् । उनले भनेका छन्, ‘पाकिस्तान क्रिकेटमा हालका दिनहरुमा आमिर बायाँ हातका सबैभन्दा रोमाञ्चक र प्रतिभाशाली तीव्र बलरमध्ये एक हुन् । उनले प्रतिकूल परिस्थितिलाई पन्छाउँदै क्रिकेटमा पुनरागमन गरे । उनी एक राम्रो र बलियो व्यक्तित्वको रुपमा मैदानमा प्रवेश गरे । मैदानमा उनको प्रदर्शन र उनको व्यक्तित्वको कमी ड्रेसिङ रुममा पनि हुने छ ।’

लासिथ मालिंगाले पनि छाडे क्रिकेट  विचित्र बलिङ एक्सन र घुम्रिएको कपालका कारण पनि समाचारमा छाइरहने लासिथ मालिंगाले क्रिकेट करियरबाट सन्यास लिएका छन् । उनले बंगालदेशविरुद्ध शुक्रबार अन्तिम म्याच खेलेपछि क्रिकेटलाई अलबीदा भनेका हुन् । श्रीलंकाका लागि ३० टेष्ट, २२५ वनडे र ७३ टी–ट्वान्टी खेलिसकेका मालिङको करियर निकै शानदार रह्यो । उनले वनडेमा आफ्नो सटिक यार्करका कारण ३३५ विकेट लिए भने टेष्ट क्रिकेटमा १०१ विकेट झारे ।सन् २००४ बाट क्रिकेट करियर सुरु गरेका मालिंगा १५ वर्षसम्म श्रीलंका टीमको खतरनाक बलरमा गनिँदै आएका छन् । मालिंगा क्रिकेटको इतिहासमा यस्ता एकमात्र क्रिकेटर हुन् जसले अन्तर्राष्ट्रिय क्रिकेटमा चार बलमा चार विकेट लिए । उनले यस्तो रेकर्ड सन् २००७ मा दक्षिण अफ्रिकाविरुद्धको खेलमा लिएका थिए ।यतिमात्र नभई, वनडे क्रिकेटमा तीन पटक ह्याट्रिक गरेको रेकर्ड पनि उनकै नाममा छ । उनले आईसीसी वर्ल्डकप क्रिकेटमा दुई पटक ह्याट्रिक समेत गरे । यस्तो खेल प्रदर्शन गर्ने उनी एकमात्र क्रिकेटर सवित भइसकेका छन् ।