भक्तपुर – २१ वर्षका जीवन तामाङको घरमा २६ वर्षकी श्रीमती र २ वर्षकी छोरी छन्। पेशाले उनी सवारी चालक थिए । श्रीमती रितु तामाङ २ वर्षयता कहिले सिन्धुपाल्चोक त कहिले काठमाडौं बस्दै आएकी थिइन् । श्रीमानको व्यवहार ठिक नलागेपछि उनले ११ साउनमा महानगरीय प्रहरी वृत्त ठिमीमा उजुरी दिइन् । उनले दिएको उजुरीमा भनिएको छ, ‘मेरो श्रीमान अर्की केटीसँग लागेर मलाई बेवस्ता गर्दै आएकाले निजलाई झिकाई आवश्यक कारवाही गरी पाउ ।’ त्यसपछि प्रहरीले जीवनलाई बोलाएर छलफल गरेको थियो । जीवनले प्रहरीसँगको छलफलमा ‘अब रितुसँग नै बस्छु भन्ने’ प्रतिवद्धता समेत व्यक्त गरेका थिए । उनले प्रहरीसँगको छलफलमा श्रीमती रितुलाई आवश्यक काजगपत्र बनाई दिने, रेखदेख गर्ने, खान लगाउन दिने लगायतका कुरा गर्ने भनेका थिए ।
प्रहरी वृत्तबाट निस्किएपछि जीवनले श्रीमती रितुलाई १ हजार रुपैयाँ दिएर कोठामा जाउ भन्दै आफु केही बेरमा आउने बताएको समेत रितुले प्रहरीलाई जानकारी दिएकी छिन् । तर, मंगलबार बिहान घटनाले अर्कै मोड लियो । जीवन र मंगली घिसिङको शव उनीहरु बस्दै आएको कोठामा फेला परेको छ । बोडेमा कोठा गरेर बस्ने सिन्धुपाल्चोक बाह्रबिसेका २१ वर्षीय जीवन र रामेछापको बेथान घर भई जीवनसँग बस्दै आएकी १८ वर्षकी मंगलीबीच प्रेम सम्बन्ध रहेको अनुमान गरिएको छ ।
घरमा श्रीमती हुदाँहुँदै बाहिर युवतीसँग प्रेम सम्बन्धको बारेमा बाहिर हल्ला भएपछि उनीहरुले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाउँछ । महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरिक्षक शान्तिराज कोइरालाले घटनाबारे अनुसन्धान भइरहेको बताए । उनका अनुसार जीवनकी श्रीमती रितु तामाङले केही दिनअघि श्रीमान अर्की युवतीसँग लागेर आफुलाई बेवास्ता गरेको भन्दै निवेदन दिएकी थिइन् । त्यसपछि प्रहरीले जिवनलाई बोलाएर रितुसँग छलफल गरेको र सोमबार जीवनले अब मंगलीसँग नबस्ने भन्दै प्रतिबद्धता समेत जनाएका थिए । प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरिक्षक कोइरालाले दुई जनाको शव पोस्र्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको र थप अनुसन्धान भइरहेको बताए ।









