बुटवल –२५ औं विश्व आदिवासी जनजाति दिवस मूल समारोहलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रतिनिधि सभा मुख्य सचेतक बालकृष्ण खांण लगायतका नेताहरुले सम्बोधन गर्ने भएका छन् । ‘पहिचान, सह–अस्तित्व र अधिकार’ नारासहित आदिवासी जनजाति महासंघ रुपन्देहीले साताव्यापी कार्यक्रमहरु गरेर दिवस मनाइरहेको छ ।
साउन २४ गते मध्यान्ह बुटवल मण्डपमा हुने दिवसको मूल समारोहलाई कांग्रेस नेता खांणसंगै विशिष्ट अतिथिको रुपमा नेकपाका तर्फबाट प्रतिनिधित्व गर्ने प्रदेश ५ का प्रदेशसभा सदस्य तुलाराम घर्तीमगर (बसन्त), राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव टोप अस्लामी,बुटवल उपमहानगरपालिका प्रमुख शिव सुवेदी,नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष जगत बराम, काउनका केन्द्रीय अध्यक्ष जेबी गुरुङ, आदिवासी जनजाति युवा महासंघ प्रदेश ५ अध्यक्ष दीपक गुरुङ, सन्जोक लाफा लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको महासंघ रुपन्देहीका अध्यक्ष शंकर गाहाले जानकारी दिए । मूल समारोह हुने दिन बिहान बुटवल वहुमुखी क्याम्पसबाट विभिन्न जनजातिका झांकीसहित र्याली शुरु भई बुटवल मण्डपमा पुगेर सभामा परिणत हुने छ । मूल समारोहमा आदिवासी दिवसमा अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कृत र सम्मान कार्यक्रम समेत रहेको महासंघका सहसचिव इन्द्र राईले जानकारी दिए ।









