बुटवल –राजनीतिक विश्लेषक सिके लाल र लेखक युग पाठकले २०७२ को संविधान अपूरो र विभेदकारी भएको भन्दै संविधान पुनर्लेखन गर्नुपर्नेमा जोड दिएका छन् । सबै समुदायका अधिकार र समावेशी प्रतिनिधित्व हुने गरी संविधान पुनर्लेखन नभए मुलुकमा दीगो शान्ति र समृद्धि हासिल हुन नसक्ने उनीहरुको भनाई छ । उनीहरुले संविधान पुनर्लेखनका लागि दवाव दिन पहिचान पक्षधर आदिवासी जनजाति, मधेशी, थारु, मुस्लिम र दलित समुदायलाई एकीकृत आन्दोलन उठाउन आग्रह समेत गरेका छन् । राष्ट्रिय जनमुक्ति पार्टीले बुटवलमा आयोजना गरेको ‘वर्तमान राज्य व्यवस्थामा पहिचानको अवस्था’ विषयक अन्तरक्रिया बोल्दै उनीहरुले २०७२ सालको संविधानले पहिचानलाई मेटाएको बताए ।
अन्तरक्रियामा बोल्दै विश्लेषक लालले जनजाति,मधेशी,मुस्लिमका भाषा,संस्कृतिपहिचान संकटमा परेको औंल्याए । प्रदेशहरुको सिमांकनले आदिवासी जनजातिको पहिचान मेटाउने र उनीहरुलाई राज्यसत्तामा पुग्न नदिने गरी सुनियोजित ढंगले गरिएको भन्दै मगरात र थरुहट क्षेत्रलाई ३–४ प्रदेशमा विभाजन गर्नुको कारण त्यही भएको बताए । ‘यो सिमांकनले अब मगर र थारुहरुलाई राज्यसत्ताको नेतृत्वमा कहिल्यै पुग्न दिंदैन’–लालले भने–‘जातीय पोशाक लगाएर नाच्दैमा पहिचान र अधिकार संरक्षण भएको छ भन्ने भ्रममा जनजाति छन् ।’ उनले २०७२ को संविधान विभेदकारी रहेको र यसले पहिचानका मुद्दालाई उल्टाइदिएको बताए ।
१४ वर्ष जेल बसेका केपी ओली प्रधानमन्त्री बन्ने अनि आरोप मात्रै लागेका जनताबाट भारी मतले निर्वाचित सांसद रेशम चौधरी जेलमा बस्नुपर्ने अवस्थाको अन्त्यका लागि आदिवासी जनजाति,मधेशी,थारुहरु संघर्षमा जानुपर्ने आवश्यकता औंल्याए । ‘संविधान पुनर्लेखन नगरेसम्म देशको अवस्था फेरिंदैन, अवस्था फेर्न र अधिकार लिन पहिचान पक्षधरको एकीकृत संघर्ष आवश्यक छ’–लालले भने–‘लडाई छाड्नु हुंदैन,नलडेसम्म शासकले अधिकार दिंदैनन् । लेखक युग पाठकले अन्तरिम संविधानमा लेखिएका पहिचानका अधिकार २०७२ संविधानले खोसेको टिप्पणी गर्दै पहिचान मेटाएर दीगो शान्ति र समृद्धि हासिल हुन नसक्ने ठोकुवा गरे । तत्कालीन माओवादी र त्यसका नेता प्रचण्डले अडान छाडेपछि पहिचानका मुद्दा संविधानमा नलेखिएको स्मरण गर्दै उनले त्यहीबाट प्रचण्डको अवनति शुरु भएको टिप्पणी गरे ।
प्रधानमन्त्री ओलीको समृद्धि र राष्ट्रवाद पञ्चायती शैलीको भएको आरोप लगाउंदै पाठकले अस्थिर सरकारका कारण विकास नभएको भ्रम छरेर दुई तिहाईमा पुग्नेहरुबाट नै पहिचान मुद्दाको हत्या भएको बताए । स्थायी सरकार भएर मात्रै विकास हुने भए पञ्चायतको ३० वर्षसम्म किन विकास भएन भन्ने प्रश्न गर्दै प्रधानमन्त्री ओली पहिचान र गणतन्त्रविरोधी भएकाले उनको नेतृत्व रहेसम्म शान्ति र समृद्धि नआउने ठोकुवा गरे । ‘ओलीको राष्ट्रवाद र समृद्धि पञ्चायती कालमा राजा महेन्द्रको शैलीको हो’–पाठकले भने–‘प्रधानमन्त्री ओली पहिचान,संघीयता र गणतन्त्रका विरोधी हुन्,त्यसैले उनको नेतृत्वको सरकार असफल भइसक्यो ।’ गुठी विधेयक फिर्ता र पराष्ट्रमन्त्रीले सरकार घेराबन्दीमा परेको भन्नु दुई तिहाई वहुमतको सरकार असफल भएको प्रमाण भएको पाठकले बताए ।
शिक्षा,स्वास्थ्यमा ब्यापारिकरण र नीजिकरणलाई प्रोत्साहित गर्ने तर पहिचान र विविधतालाई स्वीकार नगर्ने ओली सरकारले कुरा समाजवाद्को गर्ने तर बाटो दलाल पँजीवादको लिएको भन्दै पहिचान र अधिकारका लागि रचनात्मक र एकीकृत आन्दोलनको खांचो औंल्याए । कार्यक्रममा पूर्व सभासद विनोद पहाडीले अन्याय र बहिष्करणमा परेका वर्ग, क्षेत्र, लिंग र समुदायको अधिकारका लागि तिनकै प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले कुरा नउठाउनु दुर्भाग्य रहेको बताए । पहिचानको मुद्दा राजनैतिक रुपमा टुङ्गो लगाउनुको विकल्प नभएको प्रष्ट पार्दै उनले शक्ति एकितृत गर्नुपर्नेमा जोड दिए । आदिवासी जनजाति सांस्कृतिक अभियन्ता सञ्जोग लाफा मगरले विश्वका आदिवासी जनजाति समुदायका भाषामाथि चरम दमन भएको बताए । राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव टोप अस्लामीले नेपालका लागि राज्यव्यवस्थामा बहुजातीय लोकतान्त्रिक समाजवाद बाहेक अरु व्यवस्थाको विकल्प नभएको दावी गर्दै पूर्ण संघीयताको प्रत्याभूती, राज्यको हरेक अङ्ग र संरचनामा जनसंख्याको आधारमा समानुपातिक समावेशी सिद्धान्त लागु गर्नुको विकल्प नभएको बताए ।









