स्याङ्जामा प्रतिबन्धित विप्लव समुहको दस्तावेज, हतियार र विष्फोटक पदार्थसहित २ जना पक्राउ

प्रकाशित मिति:

राधाकृष्ण डुम्रे / वालिङ – जिल्ला प्रहरी कार्यालय स्याङ्जाले हतियार, विष्फोटक पदार्थ तथा प्रतिबन्धित दस्तावेज बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरिक्षक विजयकुमार सिंहका अनुसार साविक कालिकाकोट गाविस ५ हाल भीरकोट नगरपालिका ९ का ४६ वर्षीय शिव दर्लामी र भीरकोट ९ का हाल वालिङ ९ बस्ने मोहन सिंजाली पक्राउ परेका हुन् । शिवलाई गल्याङ ३ मा शंकास्पद गतिबिधि गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई खानतलासी गर्दा शिवको साथबाट प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लब समुहको विभिन्न दस्तावेज तथा नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय समितिको लेटर प्याडमा विभिन्न व्यक्तिहरुको नाममा उल्लेखित गरी ५० लाख चन्दा माग गरेको १८ थान लेटर प्याड समेत फेला परेको र सोधपुश गर्दा मोहन सिंजाली समेत संलग्न रहेकोले मोहनलाई समेत पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

त्यस्तै शिव दर्लामीको २ तले गोठ तथा धन्सारबाट एयरगन १ थान, बम जस्तो देखिने आईइडि ५ थान, चन्दा उठाउने रसिद प्याड १ थान, सदस्यता रसिद ३ ठेलीसहित विप्लव समुहको दस्तावेजहरु बरामद गरिएको प्रहरी निरिक्षक सिंहले बताउनुभयो । उनीहरुले विभिन्न व्यक्तिहरुलाई धाक, धम्की दिई चन्दा उठाउने गरेको प्रहरीले जनाएको छ ।