प्रशासनको छड्केमा सरकारी कार्यालय स्याङ्जामा ९६ कर्मचारी अनुपस्थित

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल -स्याङ्जा/संघियता सगै कर्मचारी समायोजनले हरेक सरकारी कार्यालयमा कतै कर्मचारीको अभाव त कतै फुर्सदिलो अवस्था रहेको थियो । कर्मचारी हजिर नहुने, हाजिर भएपनि सेवाग्राहीको काममा ढिलासुस्ती गर्ने व्यापक गुनासो आएका बेला जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सोमबार सरकारी कार्यालयहरुमा छडके अनुगमन गरेको छ । एकै पटक चार ओटा टोली बनाएर अनुगमन गरेको जिल्ला प्रशासन कार्यालयले ९६ जना कर्मचारी अनुपस्थित भएको फेला पारेको छ ।

टोलीले छड्केमा परेका सबै कार्यालयका हाजिरी रजिस्टर प्रशासन कार्यालयमा ल्याएर जाँच गरेको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए । छड्केमा परेका कार्यालयका २ सय ७४ कर्मचारी मध्ये १९ अधिकृत तथा ७७ विभिन्न पदका कर्मचारीहरु कार्यालय हाजिरी नभएको भेटिएको प्रजिअ निरौलाले बताए । पहिलो पटक सदरमुकाममा छड्के अनुगमन गरेका छौं प्रमुख जिल्ला अधिकारी निरौलाले भने,“यो अनुगमनलाई हरेक स्थानीयतह सम्म पुयाउने छौं ।” कर्मचारी राष्ट्र सेवक भएकाले सरकारको निर्देशन अनुसार सेवामा खटिनु पर्छ प्रजिअ निरौलाले भने ।

सदरमुकामका खानेपानी डिभिजन, नापी र घरेलुका सबै कर्मचारीहरु कार्यालयमा भेटिएका थिए । अनुगमनका क्रममा जिल्ला अस्पतालमा आठ अधिकृतसहित ३६ जना समयमा नै काममा नजाने गरेको प्रशासनले जनाएको छ । अस्पतालका प्रमुख डाक्टर अमृत पोख्रेल साउन १३ गतेबाट अनुपस्थित रहेको तथा डाक्टर शुशिल मरासिनी वैशाखबाट कार्यालयमा अनुपस्थित रहेको पाइएको छ । डाक्टर मरासिनी असार मसान्तसम्मको बिदा लिएर अमेरिका र डाक्टर पोख्रेल दुई हप्ते बिदामा रहेको अस्पताका निमित्त प्रमुख डाक्टर रन्जु पोख्रेलले जानकारी दिएको प्रशासनले जनाएको छ । त्यस्तै आयोजना कार्यान्वयन इकाई (शिक्षा) का १० जना कर्मचारी रहेकोमा सबै कर्मचारी काज लिएर बसेको बताइएको छ ।
यस्तै जिल्ला तथ्याङक कार्यालयमा ११ जना कर्मचारी रहेकोमा नौ जना कर्मचारी फिल्ड लेखेर बिदामा बसेको देखिएको छ । अनुपस्थित कर्मचारीलाई स्पष्टीकरण सोधिने र बिदा नलिनेको गयल कट्टा हुने बताउँदै प्रजिअ अधिकारी निरौलाले गयल कट्टा हुने कर्मचारीको गयल बराबर सेवा अवधि कम हुने सरकारी नियम रहेको स्पष्ट पारे ।

कार्यालय छड्केमा पुनर्निर्माणमा आठ, डिभिजन वन सात, हुलाकमा सात, सुन्तला जोनमा छ जना, कृषि ज्ञान केन्द्रमा पाँच , भेटनरी अस्पतालमा तिन, जिल्ला स्वास्थ्यमा दुइ, कोलेनिकामा एक, विद्युतमा एक, जलश्रोत तथा सिंचाई विकास डिभिजनमा ४, आयुर्वेदमा दुइ, राष्ट्रिय जिल्ला समन्वयमा चार, शिक्षा विकास तथा समन्वय इकाइमा एक तथा मालपोतमा एक जना कर्मचारी अनुस्थित रहेका भेटिएकोे जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले यो अनुगमन भने धेरै लामो समय पछि गरेको छ । प्रशासनले गरेको छड्के अनुगमनले अब सरकारी कार्यालयबाट प्रभावकारी सेवा प्रवाह हुने विश्वास स्थानीयले लिएका छन् ।