सिआइबीका एसपी भन्छन – पुडासैनि प्रकरणका मुद्दामा तीनजना प्रतिवादीहरुको दोष फरक,फरक

प्रकाशित मिति:

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको अनुसन्धानमा खटिएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी उपरीक्षक दीपक रेग्मीले कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध आत्महत्या दुरुत्साहन गरिएका भिडियोबाहेकका प्रमाण पनि भेटिएको दावी गरेका छन् । आज चितवनमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले त्यस्तो दावी गरेका हुन् । आफ्नो तर्फबाट अनुसन्धानको काम सम्पन्न गरी सरकारी वकिलको कार्यालयमा पठाइएको जानकारी उनले दिए । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका रवि लामिछाने, युवराज कँडेल र स्टाफ नर्स अस्मिता भनिने रुकु कार्कीमाथि प्रहरीले अनुसन्धान सकेर आज बिहान सरकारी वकिलको कार्यालयमा पेश गरेको हो ।

सिआइबीका एसपी रेग्मीले अनुसन्धानका क्रममा सो घटनामा आत्महत्या गर्न दुरुत्साहन गरिएको प्रमाणहरु भेटिएसँगै सोही अनुरुप प्रमाणहरु पेश गरिएको बताए । रेग्मीका अनुसार सरकारी वकिलको कार्यालय र अदालतले थप प्रमाणहरु माग गरेमा सोहीअनुसार कामलाई अघि बढाइने छ । अनुसन्धानका क्रममा भिडियो बाहेकका प्रमाणहरु जुटेका भए पनि सार्वजनिक गर्न भने नमिल्ने रेग्मीले बताए । एक सातादेखि आफूले निष्पक्षढङ्गबाट घटनाको अनुसन्धान गरेको बताउँदै प्रहरी उपरीक्षक रेग्मीले वाह्य प्रभाव आफूले थेग्नु नपरेको बताए । उनले भने, ‘भीडबाट न्याय खोज्ने परम्परालाई निरुत्साहित गरी न्यायालयबाट न्याय खोज्ने परम्परा थाल्नुपर्छ ।’ घटनालगत्तै प्रहरी प्रधान कार्यालयले आफूलाई अनुसन्धानका लागि खटाएको र सोहीअनुरुप आफ्नो काम सम्पन्न गरेको रेग्मीको भनाई छ । एसपी रेग्मीले यस मुद्दामा तीनजना प्रतिवादीहरुको दोष फरक÷फरक देखिएको बताए । प्रतिवादीहरुलाई दोषको विभाजन गर्ने काम भने अदालतको भएको उल्लेख गरे । सरकारी वकिल कार्यालयले आज जिल्ला अदालतमा मुद्धा दर्र्ताा गर्ने तयारी गरेको छ । सरकारी वकिलको कार्यालयमा बिहान १० बजे नै प्रहरीले प्रमाणसहितको फाइल र अभियुक्तहरुलाई पेश गरेको छ ।