पत्रकार पुडासैनी आत्महत्या प्रकरण : अर्को पाटोबाट पनि अनुसन्धान, रविको बैंक खाता खोज्दै प्रहरी

प्रकाशित मिति:

काठमाडौं – पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा नेपाल प्रहरीले अझै नयाँ सीरावाट अनुसन्धान शुरु गर्ने भएको छ । पत्रकार पुडासैनीले आत्महत्या गर्नुभन्दा पहिले खिचेको भनिएको भिडियोमा कार्यक्रम प्रस्तोता रविले अकुत सम्पत्ति कमाएको पोल खोलेको आधारमा उनको सम्पत्ति विवरण र बैंक खाता खोज्न थालेको छ ।

प्रहरी स्रोतका अनुसार अनुसन्धान टोलीले रविले अकुत सम्पती आर्जन गरेको भन्दै विभिन्न बैंक तथा वित्तिय संस्थामा रहेका उनका खाताहरूमा अनुसन्धान सुरु गरेको छ ।रविका बैंक खाताहरूको बारेमा जानकारी दिन र हुन सक्ने कारोवार रोक्न प्रहरीले राष्ट्र बैंकसँग अनुरोध गरेको छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले प्रहरीले बैंक तथा वित्तिय संस्थामा रहेको रकमका बारेमा बैंकसँग आग्रह गरे सहयोग हुने बताएका छन् । यसैगरी पत्रकार पुडासैनीको आत्महत्यामा क्षतिपूर्ति सम्वन्धी दफालाई आकर्षित गर्ने गरी समेत प्रहरीले अनुसन्धान सुरु गरेको जनाइएको छ ।