बागलुङ समाजको तीज मिलन सम्पन्न

प्रकाशित मिति:

बुटवल –बागलुङ समाज रुपन्देहीले तीज मिलन कार्यक्रम गरेको छ । बुटवलमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्यले तीजको मौलिक संस्कृतिलाई जोगाइराख्नुपर्नेमा जोड दिंदै भड्किलो,उत्ताउलो र खर्चिलो बनाउन नहुने बताइन् । चाडपर्वमा आफ्नो आर्थिक हैसियत बिर्सेर अरुको देखासिकी गर्दै फजूल र अनुत्पादक खर्च गर्नुको साटो मितव्ययी बन्न र वचत गरेर उद्यम–व्यवसाय गर्न सुझाव दिइन् ।

अनुत्पादक क्षेत्रमा गरिने खर्चले मुलुक समृद्ध बन्न नसक्ने स्पष्ट पार्दै उनले सबै नागरिक उद्यमशील हुनुपर्नेमा जोड दिइन् । मान्छे महंगा गहना र पहिरनले नभई उच्च विचार, असल व्यवहार र कर्मले धनी हुने स्पष्ट पार्दै उपप्रमुख आचार्यले नेतृत्व क्षमता विकास गर्न आग्रह गरिन् । बागलुङ समाज रुपन्देहीका सल्लाहकार एवं अग्रज व्यवसायी जीवन वझाले आत्मीयता,इमान्दारिता र अनुशासन बागलुङको पहिचान भएकाले त्यसलाई सदैव कायम राख्नुपर्नेमा जोड दिए । उनले समाजले तीजमा मात्र नभई अन्य चाडपर्वमा पनि जमघट हुने कायृक्रम राख्न र समाजका सदस्यलाई परिचयपत्रको व्यवस्था गरी एक आपसमा सहयोग गर्ने परिपाटीको विकास गर्न सुझाव दिए । समाजका अध्यक्ष सुरेन्द्र वर्माले आपसी भाइचाराको सम्बन्ध विस्तार र समस्या पर्दा सहयोग गर्ने उद्देश्यले स्थापना भएको समाजले सामाजिक काम पनि गर्दै जाने बताए । उनले बागलुङ जिल्लाबाट आई रुपन्देहीमा विभिन्न क्षेत्रमा उत्कृष्टता र सफलता हासिल गरेका व्यक्तित्वहरुलाई समाजले आगामी दिनमा सम्मान गर्ने घोषणा गरे । समाजका निवर्तमान अध्यक्ष एवं सल्लाहकार चुन्नप्रसाद पौडेलले बागलुङको पहिचान,संस्कृति संरक्षण र सम्बद्र्धनमा समाजले भूमिका खेल्नुपर्ने सुझाव दिए । समाजका अध्यक्ष सुरेन्द्र वर्माको अध्यक्षता र सचिव विष्णु थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा शिलु भट्टराई,सुस्मिता कार्की,रितु थापा र मिलन बीसी लगायतका कलाकारले तीज गीतमार्फत सहभागीलाई नचाएका थिए ।