मध्यपुरथिमि – भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर रोगसँगै अन्य सबै किसिमका रोगहरुको शल्यक्रिया सेवा सुर गरेको छ । अस्पतालका मेडिकल डाइरेक्टर एवं अस्पताल व्यवस्थापन समितिका सदस्य सचिव प्राडा ऋषिकेशनारायण श्रेष्ठले यही भदौ १ गतेदेखि अस्पतालले सबै किसिमका रोगहरुको शल्यक्रिया सेवा सुरू गरेको जानकारी दिनुभयो ।देशभरिका क्यान्सर रोगीहरुको उपचार गर्दै आएको अस्पतालले भक्तपुर नगरपालिकाका प्रमुखको अध्यक्षतामा गठन भएको अस्पतालको नयाँ व्यवस्थापन समिति आएपछि उच्च मनोबलका साथ काम गर्ने क्रममा यही भदौ १ गतेदेखि सबै रोगको शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो ।
उहाँले नयाँ व्यवस्थापन समितिले अस्पतालको सेवालाई सहज बनाएकाले क्यान्सरका बिरामीको चापसमेत बढेको बताउनुभयो । डाइरेक्टर प्राडा श्रेष्ठले भन्नुभयो, “नयाँ व्यवस्थापन समिति गठनपश्चात् अस्पतालका कर्मचारीहरुको मनोबल उच्चरूपमा बढेको छ, सबै कर्मचारीहरु खुशी र अझ लगनशील भई बिरामीको सेवामा कार्यरत छन्, बिरामीले सहज र सुलभरूपमा सेवा पाएका छन्, बिरामीको चाप पनि बढेको छ ।”उहाँले अहिले दैनिक १० वटासम्म जटिल शल्यक्रिया हुने गरेको उल्लेख गर्दै नगरपालिकाको व्यवस्थापन आएपछि सहज ढङ्गले उपचार सेवा दिएको र बिरामीको उपचारमा कुनै बाधा अड्चन नआएको बताउनुभयो ।पहिला दैनिक ८० बिरामी भर्ना हुने गरेकामा हाल १२० बिरामी भर्ना हुने गरेको, पहिला दैनिक पाँच जनासम्मको शल्यक्रिया हुने गरेकामा हाल आठदेखि १० जना बिरामीको जटिल शल्यक्रिया हुने गरेको र अस्पतालको शय्यासमेत अपुग भएको श्रेष्ठले बताउनुभयो ।









