काठमाण्डौ – पानी कम पर्दा देशभरी नै गर्मी बढेको छ । पानी कम परेको र बादल पनि कम लागेकाले गर्मी बढेको मौसमविद्ले बताएका छन् । तत्काल नै ठूलो पानी पर्ने कुनै प्रणाली नदेखिएकाले गर्मी अझै बढ्ने मौसमविद् वरुण पौडेलले बताउए । तर पहाडी भेगका थोरै ठाउँमा भने हल्का पानी पर्ने सम्भावना रहेको उनले बताए । मनसुनी न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ रहेकाले कम पानी परेको हो । तर स्थानीय वायुको प्रभावले पहाडी भेगको थोरै ठाउँमा भने चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको उनको भनाइ छ । उहाँका अनुसार थोरै ठाउँमा हल्का पानी परे पनि अझै केही दिन गर्मी घट्ने सम्भावना भने छैन ।
गएको वर्ष भदौ १० गते काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम २६ दशमलव ८ डिग्री सेल्सियस रहेकोमा मंगलबार काठमाण्डौ उपत्यकाको तापक्रम ३१ दशमलव १ डिग्री सेल्सियस मापन गरिएको छ । यस्तै, गएको वर्ष ३२ दशमलव ५ डिग्री सेल्सियस तापक्रम रहेको धनगढीमा मंगलबार तापक्रम ३६ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । बुधबार देशैभर आंशिकदेखि सामान्य बदली हुने र पहाडी भूभागका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।









