ओलीले मोदीलाई संविधान दिवसमा प्रमुख अतिथिका रुपमा त बोलाए तर मोदी अमेरिका जाने भए
काठमाडौँ – प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई संविधान दिवसमा प्रमुख अतिथि बन्ने गरी नेपाल आउन निम्तो पठाएका थिए। अघिल्लो साता भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणका आएका बेला प्रधानमन्त्री ओलीले उनीमार्फत् समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो पठाएका थिए। तर, मोदी भने त्यो समयमा अमेरिकाको भ्रमण गर्दैछन् । असोज ३ गते नेपालले चौंथो संविधान दिवस मनाउँदै छ । मोदी भने २ असोजमै अमेरिका भ्रमणमा निस्किने कार्यक्रम छ ।
‘मोदीलाई नेपालको संविधान दिवसको प्रमुख अतिथि बन्न औपचारिक निम्तो गएको थियो, नेपालमा संविधान दिवस असोज ३ गते पर्छ। मोदी असोज २ गते नै अमेरिका जाने कार्यतालिका रहेछ। त्यसैले उहाँले नेपाल आउन नसक्ने खबर पठाउनुभएको छ,’ सरकारी उच्च स्रोतले भन्यो । मोदी असोज २ देखि ७ गतेसम्म अमेरिकाको विभिन्न राज्यको भ्रमणमा जाने तय भएको छ। ०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो।
संविधानका कतिपय प्रावधानमा असहमति प्रकट गर्दै तत्काल संविधान जारी नगर्न नरेन्द्र मोदीले सन्देश पठाएका थिए। उनको सन्देश बोकेर भारतका तत्कालीन विदेश सचिव एस जयशंकर संविधान जारी गर्ने दिन सार्ने भन्दै नेपाल आएका आएका थिए । तर, त्यतिखेर मोदीको सन्देश बोकेर आएका जयशंकरलाई सबैभन्दा कडा जवाफ दिने ओली थिए। भारतको आग्रहलाई बेवास्ता गर्दै नेपालका राजनीतिक दलहरूले संविधान जारी गरे। लगत्तै भारतले नेपालमाथि नाकाबन्दी लगायो। झन्डै ६ महिना नाकाबन्दी चल्यो। नाकाबन्दीका बेला प्रधानमन्त्रीमा केपी ओली नै थिए ।









