सबलपोष्ट ,बुटवल,। लुम्बिनी बौद्ध विश्व विद्यालयले केन्द्रीय क्याम्पस लुम्बिनी बाहिर कक्षा सञ्चालन गरेकामा स्थानीय राजनीतिक दलहरुले विरोध जारी राखेका छन् । केन्द्रीय क्याम्पस लुम्बिनीमा पर्याप्त भौतिक पुर्वाधार हुंदाहुंदै महंगो भाडा तिरेर बुटवलमा बीबीटीएम र बीएएलएलबीका कक्षा सञ्चालन गर्नु खेदजनक भन्दै नेपाली कांग्रेसले तत्काल लुम्बिनीमै कक्षा सञ्चालन गर्न माग गरेको छ । यसअघि समाजवादी पार्टीले विश्व विद्यालय उद्देश्यविपरित चल्न थालेको भन्दै लुम्बिनी बाहिर कक्षा सञ्चालन नगर्न माग गरेको थियो । विश्व विद्यालयले स्नातकोत्तर तहमा कानून र ट्राभल्स एण्ड टुरिज्मका कक्षा बुटवलमा सञ्चालन गर्न थालेकामा नेपाली कांग्रेस लुम्बिनी सांस्कृतिक नगर समितिले विरोध गर्दै ज्ञापनपत्र बुझाएको हो ।
क्याम्पस प्रमुख फणिन्द्र न्यौपानेलाई ज्ञापनपत्र बुझाउंदै कांग्रेस नगर सभापति मोहम्मद सइद खानले माग सम्बोधन नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । अन्यत्र कक्षा सञ्चालन गर्ने निर्णयले विश्व विद्यालयलाई अन्यत्र सार्न खोजिएको त हैन भन्ने आशंका उब्जिएकाले खबरदारी गर्न ज्ञापनपत्र बुझाउनुपरेको खानले बताए । केन्द्रीय क्याम्पसमै चिनिया,जापानी,श्रीलंकन र थाई भाषाको ६ महिने कक्षा सञ्चालन गर्न,कम्प्युटर इन्जिनियरिङ,फरेस्ट्री,कृषि विज्ञान जस्ता संभावना बोकेका संकाय थप गर्न पनि कांग्रेसले माग गरेको छ । कर्मचारी भर्ना गर्दा स्थानीयलाई प्राथमिकतामा राख्न पनि ज्ञापनपत्रमा माग गरिएको छ । यस्तै विश्व विद्यालयका सम्बन्धमा स्थानीय जनप्रतिनिधि,राजनीतिक दल,शिक्षाविद् र बुद्धिजिवीहरुसंग छलफल गर्न पनि कांग्रेसले माग गरेको छ । बौद्ध दर्शन र साहित्यको अध्यापन एवं अनुसन्धान गर्ने उद्देश्यले स्थापना भएको संस्थाले उद्देश्यविपरित इन्जिनियरिङ, कानुन, टुरिज्म लगायतका विषयहरु पढाउन अन्य संस्थालाई अनुमति दिएपछि स्थानीय राजनीतिक दलहरु र शिक्षाविद्बाट विश्व विद्यालयको आलोचना हुन थालेको छ । देवदहमा विश्व विद्यालयको नाममा जग्गा खरिद गरिएकोमा विरोध गर्दै विस्तार प्रकृया लुम्बिनीमै गर्नुपर्ने माग समाजवादी पार्टीले राखेको थियो । क्याम्पस प्रमुख न्यौपानेले ज्ञापनपत्र उपकूलपतिलाई दिने बताए । विश्वविद्यालयले स्कुल अफ डेभलपमेन्ट स्टडिज र एप्लाइड साइन्स संकाय थपेर स्थापनाको उद्देश्यविपरीत हुने गरी स्नातक र स्नातकोत्तर तहमा कानून, ट्राभल्स एण्ड टुरिज्म, वातावरण, विकास, वन विज्ञान लगायत ११ वटा थप विषयमा पढाइ संचालन गर्न लागेको छ । विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा करिब दुई सय विद्यार्थी छन् ।









