काठमाडौँ – सत्तारुढ दल नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरंकुशतावादी र प्रतिक्रियावादी शक्ति सलबलाउँन थालेको बताएका छन् । आज सोमबार नेकपाको कार्यालय धुम्बराहीमा सुरेश वाग्ले स्मृति सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । यतिबेला देशले पाएको युगान्तकारी परिर्वतनलाई अपमान गर्ने र नेताहरुलाई बदनाम गर्न खोज्ने षडयन्त्रहरु हुन थालेको बताए । उनले निकै संघर्ष गरी ल्याएको गणतन्त्र र समाबेशी लोकतन्त्रलाई उल्ट्याउँनका लागि प्रतिक्रियावादी शक्तिहरु सलबलाउँन थालेको बताए ।
सभालाई सम्बोधन गर्दै उनले भने “चिहानबाट भूतप्रेत ल्याउँदैमा त्यो ब्युतिने विज्ञानले मान्दैन तर प्रेतआत्मा आएर जीवित मान्छेहरुलाई दुःख दिने गर्ने रहेछन् । कहिलेकाहीँ सिंहको अगाडि स्याल आएर हल्ला गरेको भरमा सिंह र स्यालको तुलना हुन सक्दैन । सिंह सिंह नै रहन्छ, स्याल स्याल नै रहन्छ ।” उनले हजारौँ शहिदहरुको वलिदानबाट प्राप्त भएको गणतन्त्र र समाबेशी लोकतन्त्र कुनै पनि हालतमा उल्ट्याउँन नदिन भन्दै फेरी पनि देशलाई निरंकुशताको जातोमा पिसिन नदिने प्रतिबद्धता व्यक्त गरे । अब कम्युनिष्ट पार्टी र सरकारलाई बलियो बनाएर जनताको सेवन र बिकासको विकल्प नरहेको स्पष्ट पारे । साथै उनले सरकारले राम्रो काम पनि गरेको तर अपेक्षा गरे अनुसार काम नभएकोप्रति भने पार्टीको नेतृत्वको ध्यान गएको पनि स्पष्ट पारे । अब पार्टीको एकता प्रक्रियालाई अन्तिमरुप दिएर देशभर जनतामाझ कार्यक्रम लिएर जाने तयारी भईरहेको पनि प्रचण्डले जानकारी दिए ।









