भैरहवा – सिद्धार्थनगर नगरपालिकाले सोमबार भैरहवामा निर्माणाधीन भाटभटेनी सुपर मार्केटको अनुगमन गरेको छ । उप–प्रमुख उमा काफ्ले र महाशाखा प्रमुख ई.जीवन अर्यालले निर्माणाधीन सुपर मार्केटको अनुगमन गरेका हुन् । यहाँ कार्यरत कामदारले रातको समयमा भैmझगडा गरी होहल्ला गरेको र फोहोर जथाभावी फालेको गुनासो स्थानीयबाट आएपछि अनुगमन गरिएको हो । अनुगमनका क्रममा सुपर मार्केटका चिफ इन्जिनियर सुवर्ण दंगाललाई जथाभावी फोहोर नफ्याँक्न र कामदारहरुले गर्दै आएको होहल्ला नियन्त्रण गर्न आग्रह गरिएको उपप्रमुख काफ्लेले बताइन् ।यस्तै, ढल निकासको अवस्था, नाली निर्माण, फोहोर व्यवस्थापन, सेफ्टी ट्यांकी निर्माणका अवस्था बारे पनि अनुगमन समितिले चासो देखाएको थियो । सुपर मार्केट भएकाले सेफ्टी ट्यांकी अली व्यवस्थित बनाउन लगाइएको, नालाको पानी नगरको मुख्य नालामा जाने व्यवस्था मिलाउन, फोहोरलाई नगरपालिकाको गाडीमा फाल्न उपप्रमुखले आग्रह गरेकी छन् । उनले सामान्य जनगुनासा समाधान गरि अघि बढ्न सुझाव दिइन् । उप–प्रमुख काफ्लेले भाटभटेनी अदालतको नजिकै रहेकाले सुरक्षा संवेदनशीलतालाई पनि ध्यान दिएर निर्माण गर्न र पर्खाल मजबुत बनाउन आग्रह गरिन् ।

यहाँ बनिरहेको सुपर मार्केट नगरको गहना भएको बताउँदै काफ्लेले निर्माण सम्पन्न पछि स्थानीयलाई प्राथमिकतामा राखेर रोजगारी दिन समेत सुझाव दिइन् । आवश्यक पक्रिया पूरा गरेका काममा नगरपालिका सधैँ हातेमालो गरेर अघि बढ्ने उनले जनाइन् । महाशाखा प्रमुख ई.अर्यालले नगरपालिकाको नीतिलाई अवलम्बन गरी अघि बढे पालिकाले सहयोग गर्ने जनाए । उनले भाटभटेनी संचालन पछि दैनिक रुपमा किनमेलका लागि भारतीय बजार पुग्ने नेपालीहरुमा कमी आउने र करोडौं रुपैयाँ बाहिरनबाट जोगिने विश्वास व्यक्त गरे । भाटभटेनीका चिफ ई.दंगालले आगामी दिनमा होहल्ला गर्न नदिने प्रतिबद्धता जनाए । साथै उनले निर्माणका क्रममा र संचालन पछि हुने फोहोर व्यवस्थापन, ढल निकास लगायतलाई व्यवस्थित गरि अघि बढ्ने जनाए । उनले नगरपालिकाको नीति नियमलाई फलो गरी सहकार्यमा अघि बढ्ने र पालिकाबाट सहयोग पाउने अपेक्षा समेत व्यक्त गरे । आगामी मंसिर अन्तिम साताबाट संचालन गर्ने गरी निजी क्षेत्रको लगानीमा सिद्धार्थनगर–७, नयाँ सडकमा भाटभटेनी सुपर मार्केट बनिरहेको छ ।











