प्रतिबद्धतापत्र
कुमार पन्त
अध्यक्ष पदका उम्मेदवार
(वर्तमान उपाध्यक्ष,अन्तर्राष्ट्रिय समन्वय परिषद् गैरआवासीय नेपाली संघ)
आदरणीय एनआरएन साथीहरू,
‘नेपालीका लागि नेपाली’ भन्ने मूल नाराका साथ सन् २००३ मा स्थापित गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १६ वर्षको अवधिमा धेरै रचनात्मक र गौरव गर्नलायक काम गरेको छ । विश्वका ८३ देशमा संघका राष्ट्रिय समन्वय परिषद्हरू गठन गरी नेपालीको सर्वाधिक ठूलो सांगठनिक सञ्जाल निर्माण गर्न सक्नु आफैंमा एउटा महत्वपूर्ण उपलब्धि हो ।
संघकै अभियानको प्रभाव र सम्मानस्वरुप नेपाल राष्ट्रले हामीलाई गैरआवासीय नेपाली ऐन (२०६४) र नियमावली (२०६६) मार्फत् कानुनी मान्यता दियो । संविधानसभाले संवैधानिक परिचयसमेत दिएको छ । गैरआवासीय नेपाली नागरिकताको संवैधानिक व्यवस्थाअनुरुप थप कानुन र कार्यविधि बन्दै छन् । तिनलाई एनआरएनमैत्री बनाउने अपेक्षा र प्रयासमा हामी छौँ ।
नेपालमा विभिन्न क्षेत्रमा गैरआवासीय नेपालीको सामूहिक र व्यक्तिगत लगानी बढ्दो छ । विदेशबाट ज्ञान, अनुभव र सीप भित्र्याउन पनि संस्थागत प्रयास भएका छन् । संघमार्फत् विभिन्न सामाजिक र परोपकारी कार्यमा योगदान र पहल भएका छन् । मुलुकले सामना गरेका निकै संकटपूर्ण घडीमा यही संघको छातामुनि रहेर संसारभरका नेपाली मातृभूमिको पक्षमा उभिन सक्यौँ । वैदेशिक रोजगारीसम्बन्धी समस्या समाधानका लागि नेपाल सरकारको साझेदारीमा समेत केही उल्लेख्य काम गर्न सफल भएका छौँ ।
अग्रज अभियन्ताहरुले यो संगठनको परिकल्पना गर्नुभयो । सांगठनिक आकारमा ढाल्नुभयो । त्यसमा संसारभरका प्रवासी नेपालीको ऐक्यबद्धता, त्याग र समर्पण रह्यो । यही कारण संघ आज नेपाल र नेपालीबीच एक आशा र भरोसाको धरोहरका रुपमा खडा हुन सम्भव भएको छ ।
नेपाली डायास्पोराको बढोत्तरीसँगै स्वदेशबाट विदेशिएको र विदेशमै जन्मे–हुर्केको पुस्तामा यस अभियानप्रति निकै धेरै अपेक्षा छन् । र, केही जिज्ञासा पनि । साथै, संघ क्रमशः पहिलो पुस्ताबाट दोस्रोमा फड्को मार्दै छ । ती अपेक्षा र पुस्तान्तरणको क्रममा सन्तुलन कायम गर्दै यसलाई नयाँ उचाइ दिनुछ । सम्पूर्ण प्रवासी नेपाली समाहित हुन सक्ने फराकिलो भूमि तयार गर्नु छ । र, एक–अर्काबीच कुनै पनि प्रकारका सीमा र पर्खाल नरहने गरी स्वागत गर्न सक्ने अभियानमा यसलाई रुपान्तरित गर्नुछ ।
यस अभियानको सुरु कालदेखि नै कुनै न कुनै जिम्मेवारी र भूमिकामा रहेर सकेको योगदान गर्न पाउनु विशेष गौरवको रूपमा लिएको छु । तर, मलाई राम्रोसँग थाहा छ कि यतिमै रमाउने वा विगतमा गर्व गरेर मात्र बस्ने छूट हामीलाई छैन । यस संघप्रतिको आशालाई आकारमा ढाल्नुछ । भावनालाई सार्थक शक्तिमा परिणत गर्नुछ । सपनालाई नतिजामा साकार गर्नुछ ।
यस संगठनको विभिन्न जिम्मेवारीमा रहेर संसारका अधिकांश मुलुकसम्म पुग्ने, गैरआवासीय नेपालीका भावना, समस्या र आकांक्षाहरुसँग घुलमिल हुने मौका पाएको छु । ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मर्मसँग एकाकार हुने अवसर पाएको छु । पहाडमा भूकम्प जाँदा होस् वा तराईको आँधी र बाढी, संसारका प्रवासी नेपालीको भावनामिश्रित कोशेली लिएर गाउँठाउँ पुग्दा पाएको सद्भाव र आशिर्वादले अझै धेरै ऊर्जा सिञ्चित भएको महसूस गरेको छु ।
यो अनुभवले भन्छ– संघका विश्वव्यापी सञ्जाललाई अझ मजबुत र विस्तारित बनाई परिचालन गर्न सकिन्छ । अनि, स्वदेशको अपेक्षाअनुसार अझै ठूला योजना र अभियान सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ । त्यसतर्फ केही सोचहरु विकास भएका छन् र थप पहलहरु थालिएका छन् । तिनलाई निरन्तरता दिनुछ । संविधानमा नागरिकताको व्यवस्था गर्ने सन्दर्भमा होस् वा थप कानुनी र नीतिगत पहलकदमी, यी समग्र क्रियाकलापमा सहभागी हुँदा बाँकी काम सम्पन्न गर्ने अठोट अझै दरो भएको छ ।
एनआरएनको संगठित अभियानबाहेक व्यक्तिगत रुपमा पनि नेपालको सामाजिक विकास र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने विभिन्न परियोजनामा संलग्न रहँदाको मेरो अनुभवले भन्छ– नेपालले हामीप्रति धेरै माया र अपेक्षा गरेको छ । त्यो अपेक्षा धेरै हदसम्म पूरा गर्न सकिन्छ भन्ने आत्मविश्वास पनि बढाएको छ ।
गत वर्ष काठमाडौँमा सम्पन्न प्रथम ज्ञान सीप सम्मेलनले हाम्रो प्राविधिक दक्षता, बौद्धिक पुँजी अनि व्यवस्थापकीय अनुभवको शक्ति आकलन गर्ने आधार दिएको छ । यसलाई पुँजीकृत गरी राष्ट्र निर्माणमा परिचालन गर्नुछ । यस्ता अरु नवीन अवधारणा पनि कार्यान्वयनमा ल्याउनुछ ।
आजसम्म तपाईँले विश्वास गरी दिनुभएको जिम्मेवारीलाई मैले मन, वचन र कर्मले समर्पित भई पूरा गर्न प्रयासरत रहँदै आएको छु । मातृभूमिको माटो छोएर भन्छु, आगामी दिनमा पनि तपाईँको विश्वास डग्मगाउन दिने छैन । यस संस्थासँग हरेक प्रवासी नेपालीको स्वाभिमान र मर्यादा जोडिएको छ, यसलाई थप सुदृढ बनाउने प्रयत्नमै हर तरहले जुट्नेछु ।
आदरणीय साथीहरु,
अग्रजहरूको समर्पण, मैत्रीभाव र कार्यकुशलताबाट धेरै कुरा सिक्ने अवसर पाएको हुँदा त्यो अनुभवलाई समेत हाम्रो संगठनको उचाइ वृद्धिमा लगाउनु मेरो कर्तव्य ठान्दछु । त्यसकारण यो संस्थालाई अझ उचाइमा लैजाने चुनौतीलाई मूल नेतृत्वमा रहेर सामना गर्न सक्छु भन्ने विश्वास लिएको छु ।
तसर्थ विश्वभरिका धेरै एनआरएन साथीहरूसँगको घनीभूत अन्तक्र्रियापछि मैले १५–१७ अक्टोबर २०१९ (२८–३० असोज २०७६), काठमाडौंमा सम्पन्न हुन गइरहेको ९ औं विश्व सम्मेलनमा गैरआवासीय नेपाली संघको अध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णयमा पुगेको छु ।
यस संगठनको एलसीसी, एनसीसी, क्षेत्रीय संयोजक, अन्तर्राष्ट्रिय समन्वय परिषद्को महासचिव र दुई कार्यकाल उपाध्यक्षको अनुभवसहित सिंगो संगठनको नेतृत्व गर्नका लागि निम्न कार्ययोजना प्रस्तुत गर्दछु ।
स्वदेशको समृद्धि र लगानी
१) स्वदेशको विकास र समृद्धिका लागि सम्पूर्ण गैरआवासीय नेपालीको सामूहिक र व्यक्तिगत लगानी भित्र्याउन सक्रिय रहनेछु । सानोदेखि ठूलो लगानीलाई अभियानमा समाहित गरी १० अर्बको सामूहिक लगानी कोषलाई मूर्तरुप दिनेछु ।












