एजेन्सी– पाकिस्तानी सेनाविरुद्ध बोलेपछि महिनौँदेखि लुकेर बस्दै आएकी एक पाकिस्तानी मानव अधिकारकर्मी देश छोडेर अमेरिका पुगेकी छिन् ।देशव्यापी आफ्नो खोजी र आफूविरुद्धको यात्रा प्रतिबन्धलाई छल्दै अधिकारकर्मी गुललाई इस्माइल अमेरिका पुगेकी हुन् ।उनीमाथि “राज्यविरुद्धका गतिविधिमा संलग्न भएको” र “हिंसा फैलाएको” पाकिस्तानी अधिकारीहरूले आरोप लगाउँदै आएका छन् । समाचार संस्था एएफपीसँग कुरा गर्दै इस्माइलले आफ्नो ज्यानलाई खतरा भएकोले देश छोडेर भाग्न बाध्य भएको बताएकी छन् ।
उनीविरुद्ध पाकिस्तानी अदालतमा छवटा मुद्दा दायर भएको थियो र यसकारण आफ्नो जीवन गम्भीर खतरामा रहेको उनले निष्कर्ष निकालेको बताएकी छिन् ।एउटा वक्तव्यमा अधिकारकर्मी इस्माइलले भनेकी छन्, “पछिल्ला केही महिना एकदम डरलाग्दो रहे। मलाई धम्की दिइयो, दुर्व्यवहार गरियो। म भाग्यमानी छु कि अहिलेसम्म जीवित छु।”आफ्नो यात्रामाथि प्रतिबन्ध लगाइएकोले उनले देश कसरी छोडिन् भन्नेबारे उल्लेख गरेकी छैनन् । यद्यपि न्यूयोर्क टाइम्स पत्रिकासँग कुरा गर्दै उनले भनिन्, “म कुनै विमानस्थलबाट चाहिँ उडिनँ।”अमेरिकामा राजनीतिक शरणका लागि निवेदन दिएकी इस्माइल न्यूयोर्कमा आफ्नी बहिनीसँग बसिरहेकी छन् । खासगरी महिला तथा बालिकाविरुद्धका मानव अधिकार उल्लङ्घनका घटनाबारे इस्माइलले कैयौँ वर्षदेखि आवाज उठाउँदै आएकी छन्।












