नेपालगन्ज – नेपाल आइडल- ३ को नेपालगन्ज अडिसनमा आउनेमा धेरै विद्यार्थी थिए।सोमबार ब्राटल्यान्ड कलेज परिसरको अडिसनमा भेटिए, गोरखा युनाइटेड पब्लिक स्कुल कोहलपुरका कक्षा ११ का छात्र किरण खड्का। विज्ञान संकायका विद्यार्थी खड्का आधुनिक गीत रुचाउँछन्। उनी अडिसन चरणमा छनोट हुनेमा ढुक्क देखिए। ‘गायन मेरो सोखको विषय हो’, उनले भने, ‘सानैदेखि स्कुलका प्रतियोगितामा प्रथम र दोस्रो हुन्थे। अडिसनमा पक्कै हुन्छु।’
कोहलपुर नगरपालिका- १९ की लक्ष्मी योगी व्यवस्थापन संकायमा १२ कक्षाको परीक्षा दिएर बसेकी छन्। उनी फुर्सदमा नेपाल आइडलका पुराना शृंखला युट्युबमा हेर्ने गरेको बताउँछिन्। ‘नेपालगन्जमा अडिसन हुने थाहा भएपछि आएकी हुँ। आई होप’, उनी आशावादी बनिन्।
खड्का र योगी मात्र होइन, यहाँको अडिसनमा आएका एक हजार दुई सय ५० युवायुवतीमध्ये अधिकांश विद्यार्थी नै थिए। नेपाल आइडल कार्यक्रमका निर्देशक एलिन श्रेष्ठ भन्छन्, ‘१६ वर्षदेखि ३० वर्षसम्मका जो कोही सहभागी हुन पाउँछन्। नेपालगन्जमा हाइस्कुलदेखि स्नातक तहमा पढ्दै गरेका विद्यार्थी धेरै आए।’ विश्व चर्चित टेलिभिजन फेन्चाइज आइडलको नेपाली संस्करण नेपाल आइडल एपी वान एचडी टेलिभिजनबाट प्रसारण हुन्छ। यो वर्ष देशका प्रमुख ६ सहरमा मात्र अडिसन हुँदैछ। ३१ भदौमा पोखराबाट सुरु भएको नेपाल आइडल-३ को ३ असोजमा बुटवल अडिसन हुँदै नेपालगन्जमा सम्पन्न भएको छ।
१० असोजमा पर्साको वीरगन्ज र १४ असोजमा झापाको बिर्तामोडमा र अन्तिम अडिसन ६ कात्तिकमा काठमाडौं हुनेछ। विगतमा झैं यसपटक पनि हजारौं युवायुवती अडिसनमा सहभागी भएका छन्। रियालिटी सोको निर्णायकमा संगीतकार न्ह्यु वज्राचार्य, कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी छन्।












