युवराज श्रेष्ठ
रामेछाप । लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का लगायत वडाअध्यक्षले विभिन्न शीर्षकमा अनियमितता गरेको पाइएको छ ।
अध्यक्ष खड्काले अनियमितता गरेको भन्दै स्थानीय तथा नेपाली कांग्रेस रामेछाप प्रदेश ‘क’ का सचिव निरोज खड्काले भ्रष्टाचार गरेको विभिन्न प्रमाणहरु सार्वजनिक गरेका छन् ।
सचिव खड्काका अनुसार गाउँपालिका प्रमुखले एक वर्षको अवधिमा बिजुली बाल्ने, सडक मर्मत गर्ने र एम्बुलेन्स खरिद गरि जनतालाई सेवा उपलब्ध गराउने नाउँमा करोडौं रकम भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।
अध्यक्ष खड्काले एडिबिले पहिले नै बत्ति बाल्ने तयारी गरिरहेका ठाउँमा पालिकाको करोडौं रकम छुट्याएर समिति नै नबनाइ आफ्नो नामबाट रकम निकासा गर्ने प्रयासको चौतर्फी बिरोध हुन थालेपछि समिति खडा गरि आफन्तलाई समितिमा राखेर रकम हिनामिना गरेको जनाएका छन् ।
त्यसै गरि सडक खन्ने भनेर अध्यक्षले गाउँमा नै नभएका निजामती कर्मचारी, सुरक्षाकर्मीसमेतको नाममा रकम निकासा गरेर आफैले किर्ते हस्ताक्षर गरी रकम निकालिएको सचिव खडकाले बताए ।

अध्यक्षले पालिकको एम्बुलेन्स समेत मनपरी संचालनमा ल्याएको निरोजले आरोप लगाए , उनले भने ‘एम्बुलेन्स खरिद गर्ने भन्दै खरिद समिति समेत नबनाई गाउँपालिकाको रकमबाट खरिद गरिएको छ तर एम्बुलेन्स पालिका अध्यक्षको नीजि जसरी व्यक्तिगत नाम र सम्पर्क नम्बर राखेर आफुखुशी चलाउने र मनलाग्दो सेवाशुल्क वापत रकम उठाउने गरिएको छ । त्यसको छानबिन हुनपर्दछ ।’

सोही गाउँपालिकाको वडा नं ३ का वडा अध्यक्ष यमबहादुर महतले घरजग्गा पास गरेवापतको रकम नगद उधारो बिलमा वडाको छाप लगाई बुझिलिने गरेको पाइएको छ ।

उता सोही वडाका सुर्यबहादुर खड्काबाट ‘सम्पति मूल्यांकन वापत लिएको रकम रु एक करोड ८६ लाखको प्रति लाख एक सयका दरले आयस्रोत रकम बुझिलिइ भरपाइ दियाँ ‘ भनेर खाली कागजमा लेखेर छाप हानेर बुझिलिएको देखिन्छ । यसरी पालिका तथा वडाको आम्दानी रसिद नकाट्नुले उक्त रकम पनि अनियमितता भएको आशंका गरिएको छ ।

स्थानीय नेता दामोदर खड्काले भने ‘गाउँपालकाको लागि मोटरसाइकल खरिद गर्न रकम निकासा भएको देखिन्छ तर कार्यकारी अधिकृत चढ्दै आएको मोटरसाइकलको नम्बर प्लेट हेर्दा चोरीको आशंका गरिएको छ हामीले सम्बन्धित निकायमा जानकारी पनि गराएका छौं । त्यसको पनि छानबिनको माग गरेका छौं ।’













