दशैंमा खसी किलोको ११ सय माथि जान दिन्नौ : कृषि मन्त्री खनाल

प्रकाशित मिति:

काठमाडौं – कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनालले दशैंमा मासुको कुनै अभाव नहुने दावी गर्नु भएको छ । सोमबार काठमाडौंमा आयोजित साक्षात्कारमा मन्त्री खनालले दशैंमा देशभरि कतैपनि मासुको अभाव नहुने जिकिर गर्नु भएको हो । मन्त्री खनालले दशैं केन्द्रित साक्षात्कारमा अगाडि भन्नुभयो,‘काठमाडौं उपत्यकामा मात्रै ५५ हजार खसी बोका आवश्यकत्ता हो, ४० हजार खसी बोका आउने भैसके । अब हामीलाई पर्याप्त हुन्छ । मासुको कुनै अभाव हुँदैन् ।’ दशैं सुरु भएकोले सरकारले बजारमा अनुगमन बढाएको पनि उहाँको भनाइ थियो । चाडपर्व सुरु भएसँगै आपूर्तिमा असहजता भएको, व्यापारीको मनोमानी बढेको भन्ने गुनासो आएकोले कृषि मन्त्रालय र आपूर्ति मन्त्रालयले संयुक्त अनुगमन सुरु गरेको पनि उहाँको भनाइ छ ।

काठमाडौंमा खसीको मासुको मूल्य अस्वभाविक रुपमा वृद्धि गरिएको भनेर गुनासो सुनिएकोले सरकारले खसीको मासुको मुल्यवृद्धिबारे नियमन गरिरहेको पनि उहाँले बताउनु भयो । ‘हामी यसबारेमा निरन्तर छलफलमा पनि छौं, सबै कुराको विचार गर्दा पनि खसीको मासुको मुल्य ११ सय भन्दा माथि जाने अवस्था छैन् । हामी कडाई गर्छौं ।’–मन्त्री खनालको भनाइ थियो । खनालले मासुमा नेपाल आत्मनिर्भर हुने अवस्थामा रहेको पनि मन्त्री खनालको दावी छ । उहाँले भन्नुभयो,‘हामीले आफ्नै उत्पादनले ७५ प्रतिशतसम्म धान्न सक्छौं । कुखुरामा आत्मनिर्भर छौं ।’ खसी, बोकाको मासुमा आत्मनिर्भर बन्नको लागि मन्त्रालयले यसपटक जोन, सुपरजोन चलाउने, लाईभ स्टक ईनोभेसनमा पनि खसी, बोका उत्पादन र कृषिमा युवा कार्यक्रम गरेर तीन वटा कार्यक्रम सुरु गरेको जानकारी दिदै उहाँले आगामी तीन वर्षभित्र नेपाल खसी, बोकामा पनि आत्मनिर्भर हुने दावी पनि गर्नुभयो ।

आफूहरुले बजार अनुगमनको कामलाई तीव्रताका साथ अघि बढाईएको सुनाउँदै केही मिठाई पसलले गुणस्तरहीन मिठाई बेच्ने गरेकोले गुणस्तरीयता कायम गर्न कडा निर्देशन दिएको पनि खनालले स्पष्ट पार्नु भयो । आवश्यक परे आफू पनि अनुगमनमा उपस्थित् हुने उहाँको भनाइ छ । बजारमा कृत्रिम अभाव सिर्जना गर्नेलाई कडाभन्दा कडा कारबाही गर्ने उहाँको चेतावनी छ । भारत सरकारले प्याज निर्यात नगर्ने भनेर निर्णय गरेको भनेर बाहिर हल्ला भएपनि आधिकारिक रुपमा आफूहरुलाई यसबारेमा जानकारी नभएको पनि उहाँको प्रष्टोक्ति थियो । उहाँले अगाडि भन्नुभयो,‘भारतलाई नै अभाव भएकोले उसले निर्यात नगर्ने निर्णय गरेको सुनियो, तर आधिकारिक जानकारी छैन् ।’ नेपालमा प्याजको आपूर्ति ८० देखि ९० प्रतिशत रहेकोले प्याजमा मुल्यवृद्धि हुने संभावना देखिएकोपनि उहाँको भनाइ छ । तर, बजारमा कृत्रिम अभाव सिर्जना गर्ने कुरा मान्य नहुने भन्दै सरकार कडा रुपमा प्रस्तुत हुने मन्त्री खनालले चेतावनी दिनुभयो ।