हङकङमा रक्तपात

प्रकाशित मिति:

एजेन्सी – चीनले मंगलबार कम्युनिस्ट शासन सुरुवातको ७०औं वार्षिकोत्सव मनायो । १ अक्टोबर, १९४९ मा चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालीन अध्यक्ष माओत्से तुङले जनगणतान्त्रिक चीन स्थापनाको घोषणा गर्दै कम्युनिस्ट शासनको सुरुवात गरेका थिए । त्यो शासन व्यवस्था आजसम्म पनि जारी छ । रक्तपातपूर्ण गृहयुद्धमा कम्युनिस्टहरू विजयी भएपछि चीनमा कम्युनिस्ट शासन सम्भव भएको थियो । ७०औं वार्षिकोत्सवमा चिनियाँ सरकारले त्यही रक्तपातपूर्ण क्रान्तिको झल्को दिएको छ । चीनको अर्ध–उपनिवेशका रूपमा रहेको हङकङमा सरकारविरोधी प्रदर्शन गरिएको थियो । दसौं हजार प्रदर्शनकारी हङकङको सडकमा उत्रिएर सरकारविरोधी प्रदर्शन गरेका थिए । चीनमा भव्यताका साथ ७०औं वार्षिकोत्सव मनाइँदै गर्दा हङकङको सडकमा भने प्रहरीले १८ वर्षे किशोर साङ छिकिनको छातीमा गोली प्रहार गरेको थियो ।

प्रदर्शनकारीलाई रोक्न प्रहरीले कैयौं सेल अश्रुँ ग्यास प्रहार गर्नुका साथै लाठीचार्जसमेत गरेको थियो । त्यस क्रममा ६ राउन्ड गोली पनि प्रहार गरेको प्रहरीले ती किशोरलाई ‘क्लोज रेन्ज’बाट छातीको देब्रेपट्टि गोली प्रहार गरेको थियो । प्रहरी दमनबाट घाइते भएका १ सय ४ मध्ये ती किशोर र अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् । गोली लागेपछि उनी निकैबेर रगतमा लत्पतिएर सडकमै छटपटाएका थिए । हङकङका प्रहरी प्रमुख स्टेफेन लोले नी किशोरमाथिको गोली प्रहारलाई ‘उचित र कानुनसंवत’ भएको बताएका छन् । प्रदर्शनकारीसँगको घम्साघम्सीमा २५ प्रहरी पनि घाइते भएका छन् । प्रहरीले १ सय ८० जना प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ । हङकङमा पछिल्लो चार महिनायता नियमित विरोध प्रदर्शन भइरहेको छ । हङकङ सरकारले प्रत्यर्पण विधेयक संशोधनको प्रस्ताव गरेपछि विरोध सुरु भएको हो । सो संशोधन पारित भएमा हङकङमा चीनमा जस्तै निरंकुश शासन व्यवस्था लागू हुने भन्दै त्यसको चौतर्फी आलोचना तथा विरोध भएको थियो । हाल संशोधन प्रस्ताव खारेज भइसके पनि विरोध भने जारी छ ।

चीनले बेइजिङमा सैन्य शक्ति प्रदर्शन गर्दै वार्षिकोत्सव मनाइरहँदा हङकङमा भने चिनियाँ नीतिको विरोध भइरहेको छ । बेइजिङमा चिनियाँ आर्मीले १५ हजार सैनिक, ५८० गाडी र मिसाइल तथा १६० हवाइजहाजको परेड निकालेको थियो । बेइजिङमा बेलिस्टिक मिसाइल देखाइँदै गर्दा हङकङमा भने प्रदर्शनकारीहरू पेट्रोल बम बोकेर सडकमा निस्किएका थिए । यसअघि पनि प्रदर्शन हुने गरेको भए तापनि मंगलबारको प्रदर्शन भने सधैंभन्दा फरक थियो । विरोधले सबैभन्दा हिंसात्मक रूप लिएको यसपटक सबैभन्दा बढी गिरफ्तार भएभने सबैभन्दा धेरै राउन्ड गोलीप्रहार गरिएको थियो । चीनले हङकङको राजनीति र व्यवस्थामा हस्तक्षेप गरेको भन्दै केही वर्षयता चर्को विरोध हुँदै आएको थियो । प्रत्यर्पण विधेयक संशोधन प्रस्तावले त्यो विरोधलाई हिंसामा परिवर्तन गरेको थियो । सन् १९९७ सम्म हङकङ बेलायतको उपनिवेश थियो । त्यसयता चीनको अर्ध–उपनिवेशका रुपमा रहेको हङकङको आफ्नै न्याय तथा शासन व्यवस्थाका साथै आफ्नै सरकार पनि छ । हङकङको न्यायप्रणाली र न्यायपालिकाले वाक स्वतन्त्रतालगायत विभिन्न अधिकारको सुरक्षा गरेको छ । तर, हङकङमा अहिले अध्यास भइरहेको कानुन र त्यो कानुनले दिएको स्वतन्त्रताको सन् २०४७ मा ‘डेट एक्सपायर’ हुँदैछ । त्यसपछि हङकङको हैसियत के रहनेछ भन्ने विषय अन्योलमै छ ।