बुटवल – बुटवलमा सञ्चालित दशैं सस्तो बजार शुक्रबार सकिएको छ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा संघको कार्यालय परिषर बालमन्दिरमा यहि असोजको १२ गते घटस्थापनादेखि दशैं सस्तो बजार सञ्चालन भएको थियो । ६ दिनसम्म सञ्चालित दशैं संस्तो बजारमा अन्दाजी ७५ लाख रुपैंयाको कारोवार भएको १५ हजार उपभोक्ता आएको बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य तथा दशैं सस्तो बजार समितिका सदस्य बसन्तप्रसाद ढकालले जानकारी दिए ।
१९ औं संस्करणको दशैं सस्तो बजारमा दैनिक उपभोग्य बस्तुहरु, खाद्यान्न, चिनी, तेल, नुन, आटा, दाल, चिया, दुग्धजन्य उत्पादन, लोकल कुखुरा, अण्डा, टर्की जुम्लाको स्याउ, मसला, प्रेसर कुकर, नेपाली जुत्ता लगायतका ३० स्टल राखिएको थियो । ति सामग्रिहरुमा बस्तु अनुसार ३० प्रतिशत सम्म छुटमा बिक्रि वितरण गरिएको दशैं सस्तो बजारका संयोजक तथा संघका कार्यसमिति सदस्य नरिश्वर शर्मा पौडेलले बताए । दशैं सस्तो बजारमा नेपाल राष्ट्र बैंकको सहयोगमा नयाँ नोट समेत सटही गरिएको थियो । त्यस अवसरमा ९१ लाल ५० हजार रुपैंया नयाँ नोट करिव १ हजार ७ सय जनालाई वितरण गरिएको संघले जनाएको छ । नयाँ नोट सटहीकालागि ग्लोवल आईएमई बैंकले सहजिकरण गरेको थियो ।
संघले बाहिर बजारको भन्दा सुलभ मुल्यमा बिक्रि वितरण गरेकाले पनि दशैं सस्तो बजारमा उपभोक्ताको उल्लेखनीय उपस्थिती रहेको र बजारबाट उपभोक्ता सन्तुष्ट भएको दशैं सस्तो बजारका संयोजक पौडेलले जानकारी दिए । उपभोक्तालाई सुलभ मुल्य र गुणस्तरीय सामान उपलब्ध गराउने व्यबस्था मिलाउने काम सरकारको भए पनि सरकारले गर्नुपर्ने काम नीजि क्षेत्रबाट बुटवल उद्योग बाणिज्य संघले निरन्तर गर्दै आएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बताए । उनले आगामी दिनमा पनि यो कार्यलाई निरन्तरता दिने जानकारी दिए । दशै सस्तो बजार समापनका अवसरमा संघका अध्यक्ष खिमबहादुर हमाल, संयोजक नरिश्वर शर्मा पौडेल लगायत पदाधिकारी तथा सदस्यहरुले स्टल धनीलाई धन्यवाद सहित प्रमाण पत्र प्रदान गरेका थिए ।









