नवदुर्गाको प्रसादका रुपमा आज रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदै,, १० बजेर ३५ मिनेटमा उत्तम साइत

प्रकाशित मिति:

हिन्दु धर्मावलम्बीहरुको महान् पर्व विजयादशमी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा आज रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ ।नेपाल पञ्चाङ्ग निर्णायक समितिले मंगलबार देवी विसर्जनको साइत बिहान ८ः४५ बजे रहेको जनाएको छ ।टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने बिहान १०ः३५ बजे उत्तम रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।विजयादशमी आफैंँमा शुभ दिन भएकाले मंगलबार टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उनले जानकारी दिए ।मङ्गलबार चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइने मानिस पूर्व फर्कनुपर्छ ।टीका लगाइदिनेले भने पश्चिम फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने अध्यक्ष गौतमले बताए ।