काठमाडौँ –चलचित्र ‘छ माया छपक्कै’ले शुक्रबारदेखि आफ्नो प्रदर्शन आरम्भ गरेको छ । प्रतिक्षित चलचित्रका रुपमा हेरिएको ‘छ माया छपक्कै’ ’फेस्टिभ मुड’लाई लक्षित गर्दै दशैंको अन्त्यतिर रिलिज गरिएको हो ।चलचित्रले रिलिजको पहिलो शोबाट दर्शकको निकै उत्साहजनक साथ पाएको छ । काठमाडौं र मोफसलका हलहरुमा दर्शकको उपस्थिति राम्रो छ । मल्टिप्लेक्स हलदेखि सिंगल थिएटरमा पनि दर्शकको उल्लेखनीय उपस्थिति रहेको निर्माण पक्षले बताएको छ ।
गम्भीर राजनैतिक विषयलाई हास्यप्रधान तरिकाले प्रस्तुत गरिएको यस चलचित्रलाई दर्शकले रुचाएका पनि छन् । बिहानी शो हेरेर निस्किएका अधिंकाश दर्शकले चलचित्र राम्रो भएको प्रतिक्रिया दिएका छन् । दीपेन्द्र लामा निर्देशित यस चलचित्रको कथा पनि निर्देशक लामाले नै तयार गरेका हुन् ।दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टलगायतको अभिनय रहेको यस चलचित्रको पटकथा दीपकराजले तयार गरेका हुन् । ‘आमा सरस्वती मुभिज्’, ‘रोहित अधिकारी फिल्मस्’ र ‘र्आइएमई’को संयुक्त ब्यानरमा निर्माण भएको यस चलचित्रमा रोहित अधिकारीको लगानी रहेको छ ।












