बालुवाटारबाट प्रचण्ड निवास नजिकै बसाईं सर्यो महरा परिवार

प्रकाशित मिति:

काठमाडौं – बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको परिवारले बालुवाटारको सरकारी निवास छाडेको छ । महरा परिवार २९ असोजमा बालुवाटार छाडेर हिंडेको हो । स्रोतका अनुसार महरा परिवार ललितपुरको खुमलटारमा घर घाडामा लिएर सरेको छ । महरा सभामुख हुनुअघि झम्सीखेल बस्दै आएका थिए । महराको नयाँ निवास नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास नजिकै छ ।

संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी रोशनी शाहीले बलात्कार आरोप लगाएपछि महरालाई उनको दल नेकपाले सभामुखबाट राजीनामा दिन दबाब दिएको थियो । महराले १४ असोजमा राजीनामा दिए । रोशनीका तर्फबाट बलात्कार आरोपमा कारबाही मागसहित उजुरी परेपछि प्रहरीले उनलाई १९ असोजमा सरकारी निवासबाटै पक्राउ गरेको थियो । तर, पछिल्लो समय रोशनीले आफूमाथि महराबाट यौनजन्य दुव्र्यवहार नभएको दाबी गर्दै आएकी छन् । आइतबार जिल्ला अदालत काठमाडौंमा लिखित बयान दिँदै रोशनीले प्रहरीको दबाबमा उजुरी दिएकाले उक्त उजुरी खारेजीको माग गरेकी छन् ।