काठमाडौं – हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ र ‘भद्रगोल’ बीचको विवाद समाधान भएको छ । ‘सक्किगोनि’को प्रस्तुतकर्ता जेपिटी क्रिएशन र ‘भद्रगोल’को प्रस्तुतकर्ता मिडिया हबबीच रहेको विवाद समाधान भएको हो ।
एक अर्कालाई सम्मान गर्दै दुबै पक्ष मिलेर दुई पक्षबीच सहमति बनेको ‘सक्किगोनि’का निर्देशक अर्जुन घिमिरेले जानकारी दिए । “मिडिया हब प्रालि र सक्किगोनि हास्य टेलिसिरियलबीच उत्पन्न विवाद दुवैैपक्ष बसी आपसी समझदारीमा टुङ्गोमा पुर्याइएको छ,” अर्जुनले भने , “कलाकार र सर्जकको मिडिया हब प्रालिले पनि सम्मान गर्ने र सर्जक कलाकारले पनि मिडिया हब प्रालिको योगदान र सहयोगलाई सम्मान गर्दै अगाडि बढ्ने प्रतिबद्धता गरेका छौं । यो सँगै विवादित विषय यहि टुंगिएको छ ।”
आगामी दिनमा यो विषय दुबै पक्षले नउठाउने सहमति भएको छ । मिडिया हबले आफ्नो क्यारेक्टर चोरी गरेको आरोप लगाउँदै सक्किगोनि विरुद्ध उजुरी दिएको थियो । मिडिया हबले ‘सक्किगोनि’को प्रस्तुतकर्ता जेपिटी क्रिएशन विरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएको थियो । सहमति अनुसार ‘सक्किगोनि’ले अहिले प्रयोग गर्दै आएका क्यारेक्टरलाई निरन्तरता दिन पाउने छ । ‘भद्रगोल’बाट अलग भएको समूहले ‘भद्रगोल’कै क्यारेक्टर राखेर ‘सक्किगोनि’ सुरु गरेको थियो ।












