ओली–प्रचण्ड आलोपालो प्रधानमन्त्री हुने सहमति भएको छैन : पोखरेल

प्रकाशित मिति:

बिराटनगर – कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति नभएको दोहोर्याएका छन् । मोरङमा शुक्रबार नेकपाले गरेको चियापान कार्यक्रममा सहभागी हुन बिराटनगर आएका पोखरेलले विमानस्थलमा सञ्चारकर्मीसँग सोधे,‘ओली–प्रचण्ड आलोपालो प्रधानमन्त्री बन्ने सहमति कहाँ भएको छ ?’

ओली–प्रचण्डबीच विवाद रहेको भन्ने सतहमा आएको चर्चामा कुनै सत्यता नरहेको दाबी गरेका उनले दुवैबीच सहकार्य बलियो रहेको ठोकुवा गरे । सरकारले अहिले सक्रियताका साथ काम गरिरहेको बताएका पोखरेलले हिजो र भोलीका कुनै पनि सम्भाव्यताको प्रभावमा नपरी जस्तोसुकै अपराधका आरोपीमाथि अनुसन्धानमा कमजोरी नराख्ने बताए । ‘तथ्यसहित आएका अपराधका अभियोगमा पद र अनुहार नहेरी सरकारले अनुसन्धान गर्छ’, उनले भने,‘दोषी ठहर भए सजाय दिने र निर्दोष भए सफाई दिने काम अदालतले गर्छ ।’