अमेरिकाले किम र ट्रम्पबीचको व्यक्तिगत सम्बन्धबाट फाइदा उठाउन नहुने उत्तर कोरियाको भनाइ
बुटवल – किम जोङ–उन र डोनल्ड ट्रम्पबीचको निकट व्यक्तिगत सम्बन्धलाई अमेरिकाले फाइदा उठाउन नमिल्ने उत्तर कोरियाले आइतवार बताएको छ । प्योङयाङको आणविक हतियारसम्बन्धी सम्झौतामा गतिरोधको स्थिति आएपछि उत्तरको यो बयान आएको हो । फेब्रुअरी महिनामा भियतनामको हनोईमा ट्रम्प र किमबीचको दोस्रो शिखर सम्मेलनमा कुनै सहमति हुन नसकेपछि प्योङयाङ र वाशिङटनबीचको वार्ता अघि बढ्न सकेको छैन ।
दुवै पक्षले शिखर सम्मेलनको विफलताका लागि एकअर्कालाई आरोप लगाउँदै आएका छन् र उत्तरले अमेरिकालाई यस वर्षको अन्त्यसम्ममा नयाँ विधि अघि सार्न माग गरेको छ । हनोई शिखर सम्मेलन अघिसम्म अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पिओका समकक्षीका रूपमा काम गरेका किम योङ चोलले ट्रम्प र किमबीचको निकट सम्बन्धका कारण कूटनीति जोगिएको भए पनि त्यति मात्र पर्याप्त नहुने बताए । ‘जे कुराको पनि सीमा हुन्छ,’ किमले भने ।
उनी अहिले कोरिया एसिया–प्यासिफिक पीस कमिटीका अध्यक्ष छन् । उनले दिएको वक्तव्यलाई उत्तर कोरियाको आधिकारिक केसीएनए समाचार संस्थाले प्रकाशित गरेको थियो । ‘जनताको माइन्डसेटबाट दुई नेताबीचको निकट व्यक्तिगत सम्बन्धलाई टाढा राख्न सकिँदैन र उत्तर कोरिया तथा अमेरिकाबीचको सम्बन्धलाई बिगार्नबाट रोक्ने ग्यारेन्टी त्यसले दिँदैन,’ उनले भने । ट्रम्पले उत्तर कोरियाका नेता किमसँगको निकट सम्बन्धको गफ दिएको केही दिनपछि किम योङ चोलको यो टिप्पणी आएको हो । प्योङयाङले पनि विज्ञप्ति जारी गरेर किम र ट्रम्पबीचको सम्बन्ध विशेष रहेको बताएको थियो । – एजेन्सी












