सांसद भागवत प्रकाश मल्लले भने : कालीगण्डकी डाइभर्सन नरोकीए प्रदेशसभा अवरुद्ध हुन्छ 

प्रकाशित मिति:

स्याङ्जा – गण्डकी प्रदेश सांसद भागवतप्रकाश मल्लले गण्डकी प्रदेश सरकारले कालीगण्डकी नदीको डाइभर्सन रोक्नका लागि सहयोग नगरे आफूहरुले प्रदेश सदन अवरुद्ध पार्ने चेतावनी दिनुभएको छ । स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर २ मा रहेको।बालहित आधारभूत विद्यालयको नवनिर्मित २ कोठे पक्की भवनको उद्घाटन गर्दै सांसद मल्ले कालीगण्डकी नदी यस क्षेत्रका नागरिकको अस्तित्वसँग जोडिएको भन्दै डाइभर्सनबाट गण्डकीबेसी क्षेत्रको पर्यावरणमा ठूलो असर पर्ने स्पष्ट पार्नुभयो । तल्लो तटीय क्षेत्रअन्तर्गतका पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका स्थानीय तहले नदीको पानीलाई थुनेर अन्यत्र लैजाने प्रयासलाई रोक्न त्यस क्षेत्रका स्थानीय तहले एकताबद्ध भएर अगाडि बढ्ने अभियानमा जुट्न थालेका छन् ।

पाल्पा र स्याङ्जाको सिमानास्थित राम्दीमा डाइभर्सन गरेर कालीगण्डकीको पानी तिनाउ नदीमा पोखिने योजनाप्रति कालीगण्डकी उपत्यकाका स्थानीयवासी सन्तुष्ट छैनन् ।प्रदेश सरकारलाई विकास निर्माणका कार्यमा केन्द्रित बनाउन आफूहरु लागि परेको भन्दै मल्ले भन्नुभयो, ‘कांग्रेसको ध्यान विकास निमार्णमा रहेको छ ।’ त्यस अवसरमा सांसद मल्ले बालहित आधारभूत विद्यालयको शैक्षिक गुणस्तरका अभिवृद्धिका लागि आर्थिक सहयोग स्वरुप आफ्नो पारिश्रमिकबाट ७१ हजार रुपैयाँ समेत प्रदान गर्नुभयो ।तत्कालीन जिल्ला शिक्षा कार्यालय स्याङ्जाको १२ लाख ५० हजार अनुदान र बाँकी जन श्रमदान गरी कुल १९ लाखको लागतमा विद्यालय भवन निर्माण भएको विद्यालयले जनाएको छ ।कक्षा नर्सरीदेखि ५ सम्म अध्ययन हुने यस विद्यालयमा नयाँ भवन निर्माणबाट कक्षा कोठा अभावको समस्या समाधान भएको बताइएको छ ।