ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्ताव संसदको तल्लो सदनद्वारा पारित

प्रकाशित मिति:

एजेन्सी – अमेरिकी संसद्को तल्लो सदन ‘हाउस अफ रेप्रेजेन्टेटिभ्स’ले राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने विषयको छानबिनलाई औपचारिकता दिने प्रस्ताव पारित गरेको छ । संसदमा भएको मतदानमा प्रस्तावको पक्षमा २ सय ३२ मत र विपक्षमा १ सय ९६ मत खसेको हो । प्रस्ताव पारित भएसँगै ट्रम्पका विरुद्धको छानबिन सार्वजनिक चरणमा पुगेको छ । संसदमा भएको मतदान राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने वा नलगाउने विषयको भने हैन । प्रस्तावमा महाभियोग लगाउने विषयमा भइरहेको छानबिनले अझ सार्वजनिक रूप कसरी लिन्छ भन्ने कुरा समेटिएको बताइएको छ ।

सभामुख न्यान्सी पेलोसीले आफ्नो पार्टीले अमेरिकी संविधान र प्रजातन्त्रको रक्षाका निम्ति यस्तो कदम चालिरहेको बताएकी छन । अमेरिकी राष्ट्रपति कार्यालय व्हाइट हाउसले प्रस्तावको निन्दा गरेको छ । प्रस्ताव पारित भएसँगै ट्रम्पका वकिलहरूको अधिकार पनि कटौती गरिएको छ । राष्ट्रपति ट्रम्पमाथि अपुष्ट भ्रष्टाचारका दाबीबारे आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो बाइडेनविरुद्ध अनुसन्धान गर्न युक्रेनलाई दबाव दिएको आरोप छ । ट्रम्पले आफूले गलत काम गरेको भन्ने कुरा अस्वीकार गर्दै आएका छन् ।