महराविरुद्ध प्रहरीले जुटायो यस्ता प्रमाण

प्रकाशित मिति:

काठमाडौं – संसद सचिवालयकै महिला कर्मचारीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले कसुर अस्वीकार गर्दै आएका छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासभित्र वयान दिँदै महराले घटना भएको भनिएको सुविधानगरस्थित घरको छेउमा पुगेको तर, बाटैबाट फर्किएको बताएका छन् । ‘म गएको थिएँ तर, घरभित्र नछिरी फर्किएँ’, महराले वयानमा भनेका छन् । उनले बरामद भएको भनिएको चश्माको डण्डी, जुत्ताको जिब्री (भित्री तलुवा) पनि आफ्नो नभएको बताएका छन् । आफूलाई फसाउन पुरानो फालिएको चश्माको सिसा, डण्डी र जुत्ताको तुलवा राखेको हुन सक्ने उनको आशंका छ ।

तर, काठमाडौं प्रहरी परिसर, टेकु र महानगरीय प्रहरी वृत्त, बानेश्वरका अनुसन्धान अधिकृतले भने महानगरीय प्रहरी कार्यालय, रानीपोखरीबाट प्राप्त सीसी टीभी फुटेजसहितका प्रमाणले महरा छोरा निर्मलको गाडी चढेर वारदात स्थलमा पुगेको पुष्ट्याइँ गरेको अभियोगपत्रमा उल्लेख गरेका छन् । अदालतमा दायर अभियोग पत्रमा भनिएको छ, ‘मिति २०७६/०६/१२ गते बेलुका १८ः०० बजेदेखि २१ः०० बजेसम्म सभामुख निवास बालुवाटारबाट गैरीधारा, ज्ञानेश्वर, रातोपुल, गौशाला, एयरपोर्ट, तिनकुने हुँदै घटनास्थलसम्मको फुटेज हेर्दा प्रतिवादी वारदार स्थलमा पुगेको देखिन आयो ।’

महराले प्रयोग गर्ने ९८५११….. र ९८६११…… बाट पीडितले प्रयोग गर्ने ९८१८…… र ९८४३…… मा घटनाको अघि र पछि समेत पटकपटक फोन सम्पर्क भएको तथ्य कल डिटेल रेकर्ड, एसएमएस डिटेल, कलवाइज लोकेशन र युजर डिटेजलबाट यो विषय पुष्टि भएको उल्लेख गरिएको छ । घटना पश्चात तत्कालै पीडितले फोनबाट जानकारी गराएको भन्दै सांसद् उमा रेग्मीको कागजलाई पनि प्रमाणका रुपमा पेश गरिएको छ । रेग्मीले गराएको कागजमा भनिएको छ, ‘मिति २०७६/०६/१२ गते राति अन्दाजी ११ः३० बजेको समयमा पीडितले मेरो ९८५१…… मा फोन गरी रुँदै न्याय पाउँ माननीयज्यू, भनेकीले मैले तिमी को हौ के भयो भनि सोध्दा निजले आफ्नो परिचय दिँदै म सभामुख कृष्णबहादुर महराबाट जबरजस्ती करणीमा परेँ, निज मेरो कोठामा रक्सीको बोतल लिएर आइ, मलाई जबरजस्ती करणी गर्न खोजेकाले मैले प्रतिकार गर्दा निर्घात कुटपिट गरे, दुवै गालामा पिटेर अनुहार सुन्निएको छ, जिउभरि नीलडाम छ, अनुहार चिन्न नसक्ने भएको छ, प्रतिकार गर्दा निजको चश्मा भाँचिएर सीसा फुटी खसेको छ, प्रहरी बालाउँदा हतारिएर भाग्दा निजको जुत्ताको तुलवा मेरो कोठामा छुटेको छ भनेकीले मैले प्रक्रियामा जानुस् भनेकी थिएँ । – अनलाइनखबर