शिब भण्डारी/लन्डन – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंत्री योगेश भट्टराईले ब्रिटिश मित्रहरुलाई आउंदो वर्ष नेपाल भ्रमण गर्न चुले निम्तो गरेका छन्। मंगलबार बेलुका यहाँस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मंत्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को प्रवर्धन गर्न र नेपाल भ्रमण गर्न आमन्त्रण गरे। भूकम्प पछि धेरै जसो सम्पदाहरुको पुनर्निर्माण भै सकेको र नेपाल एक सुरक्षित गन्तव्य भएको भन्दै मंत्री भट्टराईले सरकारले पूर्वाधार विकास गर्न काम गरिरहेको बताए। उनले आउंदो मार्च २०२० सम्म गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थलको निर्माण सम्पन्न भै सक्ने र नेपालको पर्यटन क्षेत्रका लागि त्यो ‘गेमचेन्जर’ हुने पनि बताए। उनले सन् २०२१ को मध्य सम्ममा पोखरा विमान स्थलको निर्माण सम्पन्न गर्ने गरी काम भै रहेको पनि जानकारी गराए।
नेपालले सफलतापूर्वक राजनीतिक विवाद सुल्झाएर अब आर्थिक विकासतर्फ मुलुक अगाडी बढेको पनि उनले बताए। मंत्री भट्टराईले नेपालको सामाजिक तथा आर्थिक विकासमा युकेले पुराएको सहयोगको प्रशंसा पनि गरेका थिए। कार्यक्रममा बोल्दै ब्रिटेनको सत्तारुढ कंजर्भेटिभ पार्टीका साम्सद डा म्याथ्यु अफोर्डले नेपाली समुदाय सहयोगी, सहिष्णु र मिलनसार भएको बताए। उनले लन्डन बरो अफ बार्नेटमा भूतपूर्व गोर्खा लक्ष गुरुङ उप मेयरमा निर्वाचित भएको स्मरण गर्दै नेपालीहरुले बेलायतमा राजनीतिक, सामाजिक तथा व्यावसायिक क्षेत्रमा सफलता हासिल गरिरहेको जनाए। उनले आउंदो वर्ष नेपालको भ्रमण गर्ने आफ्नो योजना पनि सुनाए।
बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुबेदीले ब्रिटेन नेपालको सबैभन्दा ठूलो द्वीपक्षीय विकास साझेदार रहेको भन्दै ब्रिटेनबाट नेपाल जाने पर्यटक हरुको संख्या बढीरहेको बताए। उनले यो वर्ष ७५,००० र आउंदो वर्ष एक लाख ब्रिटिश पर्यटकहरु नेपाल लैजाने उद्देश्यले ब्रिटेनमा प्रवर्धनात्मक कार्यक्रम शुरु गरिएको जानकारी पनि दिए। समारोहमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, पाटाका सीइओ डा मारियो हार्डी, १४ पटक सगरमाथा आरोहण गरेका चर्चित ब्रिटिश पर्वतारोही केन्टन कुल तथा सगरमाथा आरोही रेबेक्का विलियम्सले नेपालबारे प्रस्तुति गरेका थिए। त्यस्तै सयपत्री सांस्कृतिक समूहका सदस्यहरुले रोचक नृत्य प्रश्तुत गरेका थिए। कार्यक्रममा ब्रिटेनमा रहेका पर्यटन व्यवसायीहरु तथा वर्ल्ड ट्राभेल मार्केटमा भाग लिन आएका नेपाली पर्यटन व्यवसायीहरुको पनि उपस्थिति थियो।कार्यक्रमको संचालन दूतावासका उपनियोग प्रमुख शरद राज आरणले गरेका थिए।













