रोहित पुन हत्याको विरोधमा तरुण दलले भोली देशैभर प्रदर्शन गर्ने
दोषीमाथि कारवाही र पुनलाई सहिद घोषणा नगरिए सरकारका विरुद्ध आन्दोलन चर्काउने
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले भोली देशैभर सरकारका विरुद्ध प्रदर्शन गर्ने भएको छ । आज बसेको तरुण दलको केन्द्रीय कार्यसमिति बैठकले प्रदर्शन गर्ने निर्णय गरेको हो ।
रोल्पाको सुलिचौर बजारमा आइतबार तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुनको हत्या गरिएको विरोधमा ७७ वटै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरिन लागेको तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले जानकारी दिएका छन् ।
तरुण दलले हत्या गरिएका तरुण अध्यक्ष पुनलाई सहिद घोषणा गर्न र परिवारलाई राहत प्रदान गर्नपनि सरकारसँग माग गरेको छ । हत्यामा संलग्न दोषीमाथि कारवाही र पुनलाई सहिद घोषणा नगरिए सरकारका विरुद्ध आन्दोलन चर्काउने पनि तरुण दलले चेतावनी दिएको छ ।
सुलिचौर बजारमा ने क पा का कार्यकर्ता देव घर्ती लगायतको हतियारधारी समूहले पुनमाथि गोली प्रहार गरेर हत्या गरेको थियो ।












