फ्लोरेन्स आँधीबाट जोगिनका अमेरीकीहरु सुरक्षित स्थलतर्फ

प्रकाशित मिति:

काठमाडौं । लाखौं अमेरिकीहरु आफ्नो घर त्यागेर सुरक्षित स्थलतर्फ लागेका छन् । फ्लोरेन्स आँधीबाट जोगिनका लागि उनीहरु सुरक्षित स्थलतर्फ लागेका हुन् । विशेषगरी आँधीको त्रासले पूर्वी तटीय क्षेत्रका मा बासिन्दा सुरक्षित स्थानमा जान थालेका हुन् ।

बीबीसीका अनुसार क्याटगोरी थ्री आँधी फ्लोरेन्स स्थानीय समय अनुसार बिहिबार बेलुकासम्ममा अमेरिकाको पूर्वी तटीय क्षेत्रमा पुग्ने र यो निकै भयानक बन्न सक्ने चेतावनी दिइएको छ ।

 यी क्षेत्रका १७ लाख मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ र अहिले त्यो क्रम जारी छ ।

आँधी अहिले १९५ किलोमिटर प्रतिघण्टाको गतिमा बढिरहेको छ । हावाको गति लगभगस्थिर जस्तै रहे पनि यो आँधी भयानक हुने चेतावनी दिइएको छ ।

आँधीका कारण साउथ क्यारोलिना, नर्थ क्यारोलिना र भर्जिनिया राज्यका तटीय क्षेत्र बढी प्रभावित हुने छन् ।

बुधबार जर्जिया राज्यले आपतकालको घोषणा गरेको छ । यसअघि भर्जिनिया, मेरिल्याण्ड र वासिङ्गटन डिसीले आपतकालको घोषणा गरेका थिए ।