एजेन्सी/ साउदी अरबसँग सम्बन्ध सुधार गर्न तयार रहेको इरानी राष्ट्रपति हसन रोहानीले बताएका छन् ।तेहरानमा ओमनका विदेशमन्त्री युसुफ बिन अलावीसँग कुरा गर्दै राष्ट्रपति रोहानीले साउदी अरबसँग सम्बन्ध सामान्य बनाउन इरान तयार रहेको बताएका हुन् ।‘हामीलाई छिमेकीसँग सम्बन्ध विस्तार गर्न र साउदी अरबसँग पुनः सम्बन्ध सुरु गर्न कुनै समस्या छैन’, इरानको सरकारी समाचार माध्यमले रोहानीलाई उदृत गर्दै लेखेको छ’, ‘मध्यपूर्वमा शान्ति र स्थिरता कामय गर्नका लागि सबै क्षेत्रीय मुलुकहरु एकजुट हुनुपर्छ ।’
साथै रोहानीले सिरिया, इराक र लेबनामा साउदी अरबको नीति असफल भएको समेत बताएका छन् । साउदी अरबले क्षेत्रीय मुलुकसम्बन्धी आफ्नो नीतिमा फेरबदल गर्नुपर्ने उनको भनाइ छ । इरान र साउदी अरबले आपसी झगडा पन्छाएर सहकार्यमार्फत् मध्यपूर्वको समस्या समाधान गर्नुपर्ने उनले बताए ।त्यस्तै राष्ट्रपति रोहानीले होर्मुज पिस इनिसिएटिभको उद्देश्य क्षेत्रीय मुलुकलाई एकताबद्ध गराई स्थिरता कायम गर्ने रहेको प्रस्ट पारेका छन् । ‘हामी सबै मिलेर सहकार्य गरी तथा विदेशी शक्ति राष्ट्रलाई हस्तक्षेप गर्नबाट रोकेर खाडी र स्ट्रेट अफ होर्मुजमा सुरक्षा कायम गर्नुपर्छ’, उनले भने ।रोहानीले केही समयअघि संयुक्त राष्ट्रसंघको ७४ औं महासभामा होर्मुज पिस इनिसिएटिभ घोषणा गरेका थिए ।












