केकी र अविनाशको जोडी

प्रकाशित मिति:

काठमाडौँ /अभिनेत्री केकी अधिकारीको करिअरको पहिलो हिट फिल्म हो, ‘छ माया छपक्कै’ । २५ वटा असफल फिल्मपछि उनको खातामा पहिलो हिट फिल्म परेको हो । वर्षौदेखि फिल्म छनोटमा गम्भीर नभएको र पैसामुखी भएको आरोप खेप्दै आएकी उनले अब आफ्नो करिअर सम्हाल्ने सुनौलो अवसर पाएकी छन् । अब, उनी फिल्म छनोटमा सम्यमित हुनु अत्यन्त आवश्यक छ ।छ माया छपक्कै’ को सफलतापछि नेपाली फिल्ममा उनको माग पुनः एकपटक चुलिएको छ । यसबीच, अभिनेत्री केकीले नयाँ फिल्म ‘चालबाज’ साइन गरेकी छन् । यो फिल्मको शनिबारबाट औपचारिक रुपमा छायांकन सुरु भएको छ । शुक्रबार कालेबुङको मिरिकमा पत्रकार सम्मेलन गर्दै फिल्मको घोषणा गरिएको थियो । दार्जिलिङबाट फिल्मको छायांकन सुरु भएको हो ।

अरुण तामाङको लगानीमा बन्न लागेको फिल्मलाई कैलाश राइले निर्देशन गर्दैछन् । फिल्ममा नायिका केकी अधिकारी, कलाकार वुद्दि तामाङको साथमा नव–कलाकार अविनाश प्रधानको मुख्य भूमिका रहनेछ । यी कलाकारको साथमा फिल्ममा महेन्द्र बागदाश, चाँदनी प्रधान, सान्तिला तामाङको मुख्य भूमिका रहनेछ । सौरभ लामाको काँधमा फिल्म खिच्ने जिम्मेवारी छ ।सौरभ इन्टरनेन्मेन्ट र बलाली प्रोडक्शनको ब्यानरमा यो फिल्मको निर्माण हुन लागेको हो । कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, दीपक शर्मा र अगोम गुरुङको संगीत रहने फिल्मका गीत विपिन किरणले लेखेका छन् । ‘चालबाज’ लाई सस्पेन्स लभस्टोरी कथामा निर्माण गर्न लागिएको निर्माणपक्षले जानकारी दिएको छ । केकी फिल्मलाई लिएर उत्साहित छिन् ।