बाँके – २० वर्षकोको ठिटो । सुर्खेतकी १७ वर्षकी किशोरी । फेसबुकमा जोडिए । गफगाफ चल्न थाल्यो । ५ महिनापछि एकअर्का बिना बाँच्नै नसक्ने अवस्थामा पुगे । केटाले केटीलाई घरमै ल्याए । घरमा श्रीमती र एक छोरा छँदै थिए । छोरासहितको श्रीमतीमाथि अर्की थपेपछि घरपरिवार, गाउँले सबै मिलेर सात दिनपछि किशोरीलाई फिर्ता गरिदिए ।
घरपरिवारले फिर्ता गरिदियो, तर किशोरीलाई केटाले आफ्नो दिलबाट फिर्ता गर्न सकेनन् । फोन र फेसबुकमा कुरा चल्दै गयो । उनीहरु दुवै घर छाडेर भारत जाने योजनामा पुगे । केही दिनअघि दुईजनालाई नेपालगञ्ज नाका पार गरेर भारत जाँदा रुपैडिहामा एसएसबीले नियन्त्रणमा लियो । ‘प्रेम गरेर भागेर जान थालेको’ भनेपछि एसएसबीले शक्ति समूह नेपालगञ्जका प्रतिनिधिलाई बोलायो । शक्ति समूहकी इन्चार्ज निर्मला पौडेल त्यहाँ पुगिन् । केरकार भयो । केटाको मोबाइल चेक गर्दा अहिले भगाएको केटीको नम्बर ‘वाइफ’ नाममा सेभ भएको भेटियो, अर्को एउटा नम्बर ‘बुढी’ भनेर राखिएको थियो । बुढी भनेको नम्बरमा फोन लगाउँदा घरमा रहेकी श्रीमतीले फोन उठाइन् ।
पौडेलका अनुसार केटो काठमाडौं जान्छु भन्दै अढाई सय भारु बोकेर दुई दिनअघि घरबाट हिँडेको रहेछ । केटीसँग भने पैसा थिएन । सीमला गएर काम गर्ने योजना रहेको दुवैले बताएका छन् । तर, केटाले केटीलाई भारत लगेर गलत धन्दामा लगाउन खोजेको हुनसक्ने आशंका गरिएको छ । दुवैलाई शक्ति समूहले राखेको छ, अभिभावक बोलाएर जिम्मा लगाउने तयारी भएको छ । यो सामाजिक सञ्जाल दुरुपयोगको उदाहरण हो । शक्ति समूह, नेपालगञ्जकी इन्चार्ज पौडेलले मानव बेचबिखन तथा जोखिमपूर्ण यात्राका धेरैजसो घटना सामाजिक सञ्जालबाट जोडिएर आउने गरेको बताइन् ।









