कांग्रेसको ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्रीले भने – ‘सरकार गम्भिर छ’

प्रकाशित मिति:

काठमाडौँ – परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले हङकङमा ट्रान्जिट भिषाको नहुँदा नेपालीहरुले भोग्नु परेको समस्याका बारेमा सरकार गम्भीर रहेको बताउनु भएको छ । नेपाली कांग्रेसले नेपालीहरुलाई हङकङमा ट्रान्जिट भिषा व्यवस्था गर्ने मागसहित ज्ञापनपत्र बुझाउने क्रममा मन्त्री ज्ञावालीले ट्रान्जिट भिषा नहुँदा नेपालीहरु समस्यामा परेको प्रति आफु पनि गम्भीर रहेको बताउनुभएको हो ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणको नेतृत्वमा गएको टोलीले मन्त्री ज्ञवालीलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा ‘वर्क प्रमिट’ प्राप्त गरी करिब ४ हजार नेपाली युवाहरु रोजगारीका लागि मकाउमा रहँदै आएको र काठमाडौंदेखि मकाउ जान र मकाउदेखि काठमाडौं आउन सोझो हवाई उडान नभएकाले मकाउमा रोजगारीका लागि पुग्ने र आउने युवाहरुले कठिनाई भोग्नु परेको उल्लेख छ । काठमाडौं–हङकङ–मकाउ–मकाउ–हङकङ–काठमाडौं सबैभन्दा पायक र सहज रुटमा रहेको तर सो रुट भएर यात्रा गर्नका लागि नेपालीहरुलाई हङकङमा ट्रान्जिट भिषा व्यवस्था नभएकाले हङकङको ट्रान्जिट भिषा व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराइएको कांग्रेसले जनाएको छ ।