बुटवल/ छहारी क्लव एण्ड बेन्क्वेट मणिग्रामले लोक संस्कृतिको जर्गेना गर्ने गरी लाईभ दोहोरी सहितको सांगितिक कार्यक्रम आयोजना गरेको छ । अंग्रेजी नयाँ वर्षको स्वागत र नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै रुपन्देहीको मणिग्राममा रहेको क्लवमा मंगलबार सांझ लाईभ दोहोरी साँझ सहित सांस्कृतिक कार्यक्रम हुने भएको हो । क्लवका ग्राहकलाई लक्षित गर्दै लोकदोहोरीको मनोरन्जन प्रदान गर्न, संस्कृतिको संरक्षण गर्न र भ्रमण वर्षलाई सहयोग पुर्याउन सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियारको विशेष प्रस्तुती रहने छहारी क्लवका अध्यक्ष इश्वरी मरासिनीले जानकारी दिए ।
शान्तिश्री सँग लोकगायक कृष्ण सुवेदीले दोहोरी प्रस्तुत गर्नेछन् भने लोकगायक सुरज पाण्डे, लोकगायिका मन्जु भट्टराई तथा हास्य कलाकार पुरुषोत्तम भण्डारीलगायतको प्रस्तुती रहने क्लवका सञ्चालक सुदन भण्डारीले जानकारी दिए । कार्यक्रममा तेस्रोलिंगी कलाकारहरुको पनि विशेष प्रस्तुती रहने उनले बताए ।कार्यक्रममा नेपाली स्वादमा विभिन्न खानाका परिकार आगन्तुकहरुलाई सहुलियत दरमा उपलव्ध गराउने अध्यक्ष मरासिनीले जानकारी दिए । आयोजकले सोमबार पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराएको हो । एक वर्षअघिदेखि मणिग्राममा ८ करोडको लगानीमा सञ्चालनमा आएको छहारी क्लवले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले थप चार करोड लगानीमा २० वटा सुविधासम्पन्न कोठासहित लज सञ्चालन गर्ने तयारी गरेको छ ।शान्ति श्री परियार पछिल्लो समय गलबन्दी र बोल माया लगायत दर्जनौं सुपरहिट लोक दोहोरी गीतमा स्वर दिएकी गायिका हुन् ।












