इलाका प्रशासनबाट प्रजिअको सेवा

प्रकाशित मिति:

स्याङ्जा । जनतालाई सहज सेवा प्रवाह गर्नुपर्छ भन्ने मान्यता राख्न सकिन्छ भन्ने उदाहरण अहिले स्याङ्जाका सिडियोले देखाएका छन् । जनतालाई सर्वसुलभ तवरबाट सेवा प्रवाह गर्नुपर्छ भन्ने मनोभाव राख्न सके गर्न सकिन्छ भन्ने बिषयलाई स्याङ्जाका सिडियोले उजागर गरेका छन् । विगतका सिडियोहरुले जिल्ला सदरमुकाममै बसेर जनताको काम गरिरहेका बेला भर्खर सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारीले स्याङ्जाका जनताले सेवाप्रवाहमा दुख पाउनु हुदैन भनेर उदाहरणीय काम गरेका छन् ।
जिल्ला सदरमुकाम पुतलीबजारमा रहेको जिल्ला प्रशासन कार्यालयबाट हुने सेवा प्रवाहलाई अबदेखि इलाका प्रशासन कार्यालयबाट हुने भएको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले हरेक शुक्रवार इलाका प्रशासन कार्यालय वालिङबाट जनताको सेवा प्रवाह गर्ने भएका छन् । जिल्लाको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै इलाका प्रशासनबाट सेवा लिने सेवाग्राहीका लागि जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यतालाई अन्त्य गर्न प्रजिअ कुरुम्बाङ्ले कार्यको शुरुवात गरेका हुन् । जनसंख्याको आधार र सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट भन्दा इलाका प्रशासन कार्यालयबाट बढी हुदै आएको छ । ४० प्रतिशत नागरिकता, एमआरपी पासपोर्ट जिल्ला प्रशासनबाट वितरण हुन्छ भने ६० प्रतिशत वालिङबाट हुदै आएको छ । इलाका प्रशासन प्रमुखले गर्न नसक्ने कामका लागि प्रमुख जिल्ला अधिकारीले गर्ने व्यवस्था अनुरुप यहाँका जनता जिल्ला सदरमुकाम पुग्नु पर्ने बाध्यता रहदै आएको थियो । संघिय सरकारको निर्देशन अनुसार जनताको नजिक बसेर सेवा प्रवाह गर्नु भन्ने अदेशलाई पालना गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले बताए । कर्मचारी सरकारको प्रतिनिधि हो प्रजिअ कुरुम्बाङ्ले भने,“जनतालाई दुख दिने काम कर्मचारीबाट हुनुहुदैन ।”

जनताको सेवकका रुपमा काम गरेमा जनताबाटै आर्शिवाद हामीले पाउछौ उनले भने । राष्ट्र सेवक कर्मचारीबाट जनतालाई दुख दिनुहुन्न भन्ने मान्यता अनुरुप जिल्लामा खटिएका कर्मचारीलाई पनि सोही बमोजिम निर्देशन दिएको प्रजिअ कुरुम्बाङ्को भनाई छ ।
गैह्रसरकारी संस्था, नागरिकता संसोधन, विपत व्यवस्थापन, सुरक्षा लगायतका बिषयका लागि यस भेगका जनता जिल्ला सदरमुकाम पुग्नुपर्छ । प्रजिअ हरेक शुक्रवार वालिङ आउने भएपछि यहाँका जनता निकै खुशी भएका छन् । सिडियो सापबाट हुने कामका लागि सदरमुकाम जानुपर्ने बाध्यतालाई वालिङबाटै सहजता मिल्ने भएपछि खुशी भएको स्थानीय समाजसेवी लक्ष्मीकान्त रेग्मीले बताए । प्रजिअबाट राम्रो कामको थालनी भएको छ समाजसेवी रेग्मीले भने,“अब यस भेगका नागरिकलाई धेरै सुविधा मिल्नेछ ।” अत्यन्तै हलुका पन र जनतालाई ठुलो मानेर काम गर्ने सिडियोको रुपमा चिनेको र अहिले सम्म यस्तो सिडियो आफुले नपाएको रेग्मीले बताए ।
संघिय र प्रदेश सरकारको मातहतमा रहेका हरेक सरकारी निकायको काम अब हरेक शुक्रवार वालिङबाट हुने बताइएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने बैठक पनि इलाका प्रशासनमा बसेर यस क्षेत्रमा हुदै आएका समस्या हल गर्ने रणनीति प्रजिअको छ । पौष १८ गतेदेखि प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष समेत इलाका प्रशासनमा बनाइएको छ । इलाका प्रशासनबाट प्रजिअको सेवा प्रवाह गर्ने कामको थालनीने कर्मचारीमा पनि उच्च मनोबल बढेको इलाका प्रशासन प्रमुख दामोदर शर्माले बताए । आज यो कार्यलय निकै उज्यालो भएको महशुष गरेको छु प्रमुख शर्माले भने,“जिल्लाकै प्रमुख प्रशासक इलाकामा बसेर जनताको काम गर्दा हलुका महशुष भएको छ ।” यो कार्यले जनतालाई धेरै सुविधा हुने शर्माले बताए । इलाका प्रशासनमा बसेर सेवा प्रवाह गर्ने प्रजिअ सम्ववत नेपालमै यो पहिलो हुन सक्ने अनुमान गरिएको छ । देशभरीका सिडियोहरुको कार्यमुल्याङ्कनमा उत्कृष्ट भएका स्याङ्जाका प्रजिअले जनताको नजिक बसेर सेवा प्रवाह गर्ने कामको शुरुवात भएको छ यसको निरन्तरता र अन्य प्रजिअले पनि सिक्नु आवश्यक देखिन्छ ।